भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस

प्रकाशित मिति:

भैरहवा, १५ असोज । नेपाल चीन मैत्री समाज लुम्बिनीले छिमेकी देश चीनको ७१ औं राष्ट्रिय दिवसलाई स्वागत गरेको छ । हरेक वर्षको अक्टोबर १ तारिखलाई चीनले राष्ट्रि दिवसमा रुपमा मनाउंदै आएको छ । नेपाल चीन मैत्री समाजको कार्यालयमा आयोजित कार्यक्रमका वक्ताहरुले नेपालको असल छिमेकी मुलुक चीनको विकास र समृद्धिबाट पाठ सिकेर नेपाललाई पनि समृद्ध बनाउन ध्यान दिनुपर्नेमा जोड दिए । प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले चीनले स्वतन्त्र भएको छाटो अवधिमै आफूलाई आर्थिक, सामरिक र हरेक हिसाबले विश्वकै अग्रणी र शक्तिशाली मुलुकमा उभ्याएको चर्चा गर्दै नेपालको सरकार र राजनीतिक दलहरुले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताइन् ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले माओत्से तुङ हुंदै वर्तमान राष्ट्रपति सी जिन पिङसम्मको नेतृत्वको कार्यकुशलता, इमान्दारिता र जनताको अथक मेहनतबाट चीनले विकासमा फड्को मारेर प्रगति गरेको बताए । अध्यक्ष सापकोटाले चीनको पञ्चशीलको विदेश नीतिको सम्मान गर्दै एक चीन नीतिको पक्षमा नेपाल सधैं दृढ रहनुपर्नेमा जोड एि । चीनले राष्ट्रिय दिवसमा आठ दिन विदा दिने गरेको उल्लेख गर्दै अध्यक्ष सापकोटाले उक्त अवधिमा चिनीया नागरिकलाई लुम्बिनीमा आकर्षित गर्न सके मात्रै लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रैय,समाजका उपाध्यक्ष गोबिन्द रेग्मी, महासचिव मनिषकुमार जोशी,समाजसेवी नारायण अग्रवाल,साहित्यकार डिल्लरिाज भट्टराई लगायतले बोल्दै चीनका जनतासंग जनस्तरको सम्बन्ध विस्तारमा समाजले महत्वपूर्ण भूमिका खेलेको बताए । चीनले चालू वर्षको अक्टोबर १ तारिखदेखि राष्ट्रिय दिवसको अवसरमा आठ दिने विदा दिने गर्छ ।