राजधानी सार्ने प्रस्ताव आएसंगै बुटवलमा बिरोध

१६ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल । प्राय विभिन्न आन्दोलन र विरोधका कार्यक्रमहरु भइरहने रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार पुनःतात्न थालेको छ । अर्थात् कोरोना कहर र लकडाउनले करिब ७ महिनमा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत देखिएको छ । यसअघि सरकारले कोरोना रोकथामा र नियन्त्रणका लागि १० अर्ब खर्च गरेको विषयमा सयौं युवाहरुले सडक र सामाजिक सञ्जालबाट विरोध गर्दै गर्मीयामा पनि थप गर्मागर्मी बनाएका थिए ।

प्रदेश ५ को स्थायी राजधानीका लागि दाङ प्रस्ताव गरेको विरोधमा बुटवलमा विरोध सुरु भएको हो । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आन्तिरक मामिला तथा कानून मन्त्री कुल प्रसाद के।सी। ले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनीका लागि प्रस्ताव गरेका थिए । यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो । नेकपाका प्रदेश– ५ इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गरिरहेका थिए । उनी पनि दाङकै स्थायी बासिन्दा हुन्। नेकपा महासचिव विष्णु पौडेल लगायतका नेता भने प्रदेश राजधानी बुटवललाई बनाउने पक्षमा थिए ।

कोरोना कहर र चाडपर्व नजिकिँदै गर्दा आफ्नै जीवनशैलीमा व्यस्त बुटवलबासी प्रदेश राजधानीको विषय सार्वजनिक भएपछि एकाएक माहौल तातेको छ । धेरैले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया दिएका छन् । यसै क्रममा नेपाल बिद्यार्थी स‌ंघले भने विरोध स्वरुप नाराबाजी गर्दै टायर बालेको छ । प्रदेश सभा अगाडि महेन्द्र राजमार्गको बुटवल–नेपालगञ्ज सडकखण्डको प्रदेश सभा भवन प्रवेश गर्ने चोकमा उनीहरुले केहि समय नाराबाजी गर्दै टायर बालेका हुन् ।

विरोध गर्दै सडकमा उत्रिन थालेपछि प्रहरी प्रशासनले भने सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको छ । स्मरण रहोस् प्रदेश राजधानीको विषयलाई लिएर यस अगाडि बुटवलमा धेरै बहस चल्दै आएको छ भने पहाडी जिल्लालाई छुट्टाउने विषयमा धेरै विरोध र आन्दोलनहरु भएका थिए । साभार गोलोबल

 

फेसबुकबाट तपाईको प्रतिक्रिया