तिलोत्तमामा बाढी तथा डुबान पीडितलाई राहत दिन मापदण्ड तय

प्रकाशित मिति:

तिलोत्तमा, असोज १७ । तिलोत्तमा नगरपालिकाले असोज ९ गते राति आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई राहत दिन मापदण्ड तय गरेको छ । स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । मापदण्डअनुसार संकलित लगतको आधारमा केही दिनभित्रैं राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

 

असोज ९ गते राति भारी वर्षासँगै आएको बाढी तथा डुबानबाट वडा नं. ११, ८, ७, १, १२ लगायतका वडाहरु सबैभन्दा बढी प्रभावित भएका थिए । सुखौरा तथा रोहिणी नदी र सिँचाई नहर आसपासका बस्ती बाढी तथा डुबानबाट प्रभावित भएका हुन् ।विपद् व्यस्थापन समितिको बैठकले कार्यपालिका सदस्य राधा शाही संयोजक, नगरसभा सदस्यद्धय नेत्र खनाल, यमबहादुर थापा तथा ईञ्जिनियर गिरीराज डुम्रे र सव–ईञ्जिनियर कमल खड्का सदस्य रहेको क्षति लगत संकलन उप–समिति गठन गरेको थियो ।उप–समितिले बुझाएको प्रतिवेदनको आधारमा विपद् व्यवस्थापन समितिले राहत वितरण मापदण्ड कार्यपालिका बैठकमा पेश गरेको समिति संयोजक एवं नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । मापदण्डअनुसार लत्ताकपडा, भाडावर्तन बगाएका पीडित परिवारलाई सात हजार, घर–गोठ आंशिक क्षति पुगेको परिवारलाई दश हजार, घर पूर्णरुपमा क्षति भएको परिवारलाई बीस हजार रुपैंयाँ राहत पाउने छन् ।

 

यस्तै गाईं भैसी मरेकोमा प्रतिगोटा पाँच हजार, बंगुर, बाख्रा मरेकोमा प्रतिगोटा पाँच सय रुपैंयाँ, धानबाली पूर्ण नष्ट भएकोमा प्रति विगाहा बीस हजार रुपैंयाँ राहत पाउने छन् । यसैगरी कुखुरा–हाँस ५० गोटासम्म तीन हजार, २५० गोटासम्म पाँच हजार, ५०० गोटासम्म सात हजार रुपैंयाँ राहत दिने मापदण्ड निर्धारण भएको छ ।माछा पोखरीमा पुगेको क्षतिमा प्रतिपोखरी पाँच हजार रुपैंयाँ राहत दिनेगरी मापदण्ड निर्धारण भएको समिति संयोजक श्रीले जानकारी दिनुभयो । यसैगरी विभिन्न उद्योगधन्दामा पुगेको क्षतिमा पनि राहत दिइने उहाँले बताउनुभयो । नदी कटान नियन्त्रण, व्यवस्थापन र अल्प तथा दीर्घकालीन रुपमा समस्या समाधानको लागि नगरपालिकाले प्रदेश तथा संघीय सरकारसँग माग गर्ने उहाँको भनाइ छ ।

 

असोज ९ गते रातिको बाढीबाट समस्यामा परेका नगरबासीको उद्धारको लागि मध्यरातमैं नगर प्रमुख बासुदेव घिमिरेलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी घटनास्थलमा खटिएका थिए ।

 

 

 

थप समाचार