पहिरोले विद्यालय भत्किएपछि मन्दिरमा पढाउँदै

प्रकाशित मिति:

तोलाकान्त बगाले,वालिङ-यहाँको एक विद्यालय पहिरोले भत्काउँदा पठन पाठनमा समस्या आएको छ । स्याङ्जाको वालिङ १४ हुल्काङमा रहेको जनकल्याण आधारभूत विद्यालयको भवन पहिरोले भत्काउँदा पठन पाठनमा समस्या भएको हो ।

२२ वर्ष पहिले स्थापना भएको उक्त विद्यालयको भवन माथिबाट आएको पहिरोले बगाएर लैजाँदा हाल बालसिकाई (शिशु) देखि पाँच कक्षासम्मका विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप प्रभावित भएको विद्यालयका प्रधानाध्यापक तीर्थराज डुम्रेले बताए ।“गत साउनमा आएको पहिरोले विद्यालयको प्रवेशद्वार शौचालय बगाएको थियो” प्रअ डुम्रेले भने, “भदौ २६ गते अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवन जगै नरहने गरी लगेकाले पठन पाठनका लागि निक्कै समस्या भएको छ” ।अहिले विद्यालयको नजिकै रहेको मन्दिरमा पठन पाठन भईरहेको प्रअ डुम्रेले बताए । विद्यार्थीलाई मन्दिरमा राखेर पढाए पनि यो दीर्घकालीन र प्रभावकारी उपाय नभएकाले विद्यालय भवन निर्माणका लागि जग्गाको खोजी कार्य भईरहेको प्रअ डुम्रेले बताए ।

“माथिबाट आएको पहिरोले विद्यालय भवन बगाउँदा विद्यालयभन्दा तलको जमिनको जग नै नरहने गरी लगेको छ” प्रअ डुम्रेले भने, “यसको स्थायी समाधानका लागि अन्यत्र जग्गा खोजी कार्य भईरहेको छ” ।गाउँको मध्यभागमा रहेको उक्त विद्यालयको भवन भत्किएपछि पठन पाठनमा समस्या भएकोले तत्काल विद्यालय भवन निर्माण गरी कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“पहिरोले विद्यालय भवन बगाएको छ, विद्यालय भवनभन्दा तल लगाईएका पर्खालहरु सबै बगेकाले छाँगो बन्न पुगेको छ” नगर प्रमुख खाँणले भने, “अहिलेकै स्थानमा विद्यालय भवन बनाउन हुने अवस्था म देख्दिन विद्यालयललाई अन्यत्रै स्थानान्तरण गर्नुपर्छ” ।