बागमती प्रदेशले क्रिकेट मैदान बनाउन धुर्मुस-सुन्तलीलाई दियो ३ करोड

प्रकाशित मिति:

हेटौंडा-  बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमबीच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक बुधबार हस्तान्तरण गरे।

 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ काम गरेको भन्दै प्रशंसा गरे। रंगशाला निर्माण तीव्र गतीमा भएको भन्दै उनले खुशी समेत व्यक्त गरेका छन्। रंगशाला निर्माण परियोजना छिटो सक्न पनि पौडेलले शुभकामना दिए। सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी दिए। रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको उल्लेख गरे। सरकारले सहयोग जारी राख्ने बताउदै पौडेलले भने, ‘आगामी वर्षलाई पनि सरकार छ भन्‍ने सम्झनु।’ यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारबाट फेरि सहयोग हुने बताए। परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै उनले चुनौती पन्छाएर अघि बढ्न फाउन्डेसनलाई सुझाव दिए।

 

यसैगरी फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए। रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको जानकारी पनि उनले दिए। सहयोगी मनहरुले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको उनले बताए। ‘अवस्था समस्याजनक छ तर पनि काम गर्दैछौँ, बजारमा ७ करोड तिर्न बाँकी छ । तर पनि हामीले हिम्मत हारेका छैनौं,’ उनले भने।