देउवा विरुद्ध मोर्चाबन्दीमा रहेका नेता सुजाता निवासमा

प्रकाशित मिति:

कात्तिक २६ काठमाडौं । संस्थापन पक्षले राजनीतिक आवश्यकता भन्दै विजयकुमार गच्छदारलाई उपसभापति मनोनयन गरेपछि असन्तुष्ट समूह छलफलमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दीमा रहेका कांग्रेसका प्रभावशाली नेताहरु सोमबार (केहीबेरअघि) नेतृ सुजाता कोइरालाको निवासमा छलफलमा जुटेका हुन् ।

मण्डिखाटारस्थित सुजाता निवासमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिँह, अर्जुननरसिँह केसी, डा. रामशरण महत सहभागी छन् । छलफलका क्रममा पार्टीको आगामी महासमिति बैठकलगायतका विषयमा पनि केन्द्रीत हुने स्रोतले जनाएको छ ।

कात्तिक २० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति बनाएपछि संस्थापन इतरका नेताहरु असन्तुष्ट छन् । गच्छदारलाई उपसभापतिमा मनोनयन गर्दा प्रक्रिया नमिलेको भन्दै वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्यद्वय सिंह र केसीले बैठकमै आपत्ति जनाएका थिए ।

यस्तै नेतृ कोइराला पनि गच्छदारको मनोनयनका विषयमा सभापति देउवाले आफूहरुसँग छलफल नगरेको भन्दै सार्वजनकि कार्यक्रमहरुमा आपत्ति जनाउँदै आएकी छिन् ।