वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम सम्पन्न ।

प्रकाशित मिति:

वालिङ : वालिङ नगरपालिका वडा नम्वर १० मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।  स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।

कार्यक्रममा बोल्दै वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले कृषकहरुको मागलाई मध्यनजर गर्दै नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो कृषकहरुलाई व्यवशायीक बनाउनका लागि बिभिन्न साझेदार संस्थासँग मिलेर काम शुरु गरिएको छ, तपाईहरुले काम गर्नुहोस् वडा कार्यालय साथमा छ ।

कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोरोनाबाट प्रभावित भएका कृषकहरुलाई त्यसको असरबाट जोगाउन कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कोरोनाको प्रभावका कारण समस्यामा परेका व्यक्तिहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम शुरु गरिएको हो । अध्यक्ष तिवारीले नगरपालिकाका १४ वटै वडामा उत्पादन बढाई कोरोना प्रभावितहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए । व्यवस्थित नर्सरी मार्फत गाँउ गाँउमा उत्पादन बढाउने लक्ष्य रहेको दियालो संस्थाले जनाएको छ । तालिममा ३६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा कृषि प्राबिधिक प्रतिभा साप्कोटा,शोभाकान्त पाण्डे र बिष्णु प्रसाद न्यौपानेले प्रशिक्षण दिनुका साथै स्थलगत प्राक्टिकल गराएका थिए ।  कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा नर्सरीको स्थापना गर्ने काम भईरहेको दियालो संस्थाले जनाएको छ ।