पहिरो पिडितको सहयोगी बन्दै लायन आदर्श चौतारी

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल,स्याङ्जा— ‘जहाँ दान, त्यहाँ पुण्य’ भने जस्तै जहाँ विपत छ त्यहाँ आदर्श चौतारी नामक क्लव सहयोगी मन लिएर पुग्ने गरेको छ । प्राकृतिक विपत्ती देखि अति विपन्न परिवारका लागि सहयोगी बन्दै आएको लायन्स क्लव अफ पोखरा आदर्श चौतारी । स्थापना भएको छोटो समयमै विपत्तीहरुको मनलाई सानो धेरै थोरै सहयोगी मन लिएर पुग्ने गरेको लायन्स क्लव आदर्श चौतारी असोज ८ गते अविरल बर्षादका कारण ज्यान गुमाउने परिवार सगँ भेटघाट र सहयोग गरेको छ । आर्थिक र खाद्यन्न लिएर पोखरा देखि स्याङ्जाको वालिङ १४ तमादी आएको क्लवले हामी विपदका सहयोेगी हौ भनेर जनाउ गरे । तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका बाँकी सदस्यलाई नगद तथा खाद्यान्न सहयोग गरेर प्राकृतिक विपत्तीको सहयोगीको संज्ञा दिएको छ । वालिङ नगरपालिकाको रोहवरमा क्लवले पहिरो पिडित परिवारलाई नगद र खाद्यन्न वितरण गरेको छ । पहिरोले ठूलो जनधनको क्षति पु¥याएको परिवारलाई पोखरा देखि आएर सहयोग गरेकोमा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले धन्यवाद दिए ।

पहिरोबाट परिवार गुमाएका वा घर पुरिएका ब्यक्तिहरु अहिले छिमेकी तथा विद्यालयमा बस्दै आएको जानकारी दिदै नगर प्रमुख खाँणले भने, “उहाँहरुको घर बनाउनका लागि जग्गाको खोजी भईरहेको छ जग्गा प्राप्त भएपछि घर बनाउने तयारी भईरहेको छ ।” ज्यान गुमाएका परिवारका सदस्यलाई ठूलो पीडा परेकोले अहिले खुलेर बोल्न सक्ने अवस्थामा पनि नरहेकाले स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकाले अभिभावकको भूमिका खेल्ने प्रतिबद्धता नगर प्रमुख खाँणले जनाए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष मोहनराज पौडेलले पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नका लागि पिडित परिवारलाई अनुरोध गरे । पीडामा हिम्मत नहारीकन अगाडि बढ्ने मानिसहरु सफल बनेका उदाहरण प्रशस्तै रहकाले सोही अनुसार अगाडि बढ्न सुझाव दिंदै आगामी दिनमा पनि लायन्सले सक्दो सहयोग गर्दै जाने विश्वास पौडेलले दिलाए । सहयोग हस्तान्तरण कार्यक्रममा रिजनल चियर पर्सन बासुदेव कोईरालाले पीडित परिवारको पीडामा थोरै भएपनि मल्हम लगाउनका सकियोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए । क्लबका सचिव दामोदर आचार्यले पीडित परिवारको पीडालाई आफ्नै पीडा सम्झिएर लायन्स क्लबका सदस्यहरुद्वारा संकलन गरिएको रकम हस्तान्तरण गरिएको बताए । सहयोग रकम तथा खाद्यान्न स्वीकार गरी ग्रहण गरेकोमा पीडित परिवारप्रति आभार ब्यक्त गरे ।

कार्यक्रम संयोजक सुशील कोईरालाले मानवीय सेवा नै धर्म ठानेर यहाँका पीडित परिवारलाई सहयोग गर्नुपर्छ भन्ने पवित्र भावनाले क्लबमा प्रस्ताव लगेको बताउँदै सहजै पारित गर्ने क्लबका पदाधिकारी तथा सहयोग स्वीकार गर्ने परिवारजनप्रति धन्यवाद ज्ञापन गरे । गत असोज ८ गते विहान तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका नौ जनाको पुिरएर मृत्यु भएको थियो भने छोरी मनिषा नेपालीलाई स्थानीयले घाईते अवस्थामा उद्दार गरेका थिए । परिवारका अन्य सबै सदस्यको निधन भएपछि रोजगारीको शिलशिलामा भारतमा रहेकाले भोजराज नेपाली र घाईते अवस्थामा उद्दार गरिएकी मनिषा नेपाली अहिले तमादीस्थित फूलबारी आधारभूत विद्यालय जिमिरेमा बस्दै आएका छन् । उक्त पहिरोमा परी अन्य दुई घर पनि पुरिएका छन् । पहिरोले घरहरु पूर्णरुपमा क्षति भए भने पशु चौपायाहरु पनि पुरिएर मरेका थिए । लायन्स क्लवले यस भन्दा अगाडी वालिङ ७ ताप्केमा पहिरो पिडितलाई पनि सहयोग गरेको थियो भने जिल्लाका विभिन्न भागमा निशुल्क ः स्वास्थ्य शिविर गरेर ग्रामिण क्षेत्रका जनताको स्वास्थ्य सेवा गर्दै आएको छ ।