सेनाको बन्दुकदेखी कलमको यात्रा – प्रेम सुनार

प्रकाशित मिति:

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका साविकको बडागाउँ गाविसमा जन्मिनु भएका प्रेम सुनार चर्चित कार्यक्रम ओझेलका खबरका प्रस्तोता तथा न्युज 24 टेलिभिजनका गुल्मी रिपोटर लगायत विभिन्न रेडियो, टेलिभिजन तथा दर्जनौ अनलाइन हरुमा कार्यरत हुनुहुन्छ । विशेषगरी खोज पत्रकारितामा कलम चलाउन मन पराउने पत्रकार प्रेम सुनार संग सबल पोष्टका लागी झविन्द्र भण्डारीले गरेको कुराकानी ः

पत्रकारितामा कसरि र किन आउनुभयो ?
सेनाको बन्दुकदेखी कलमको यात्रा हो । नेपाली सेनामा १३ वर्ष ५ महिना सम्मको सेवाबाट उपदान प्राप्त गरी त्यो काडे तारलाई तोडेर २०६० सालदेखी निरन्तर रुपमा पत्रकारितामा सक्रिय हुदै आएको छु । हाम्रो समाजमा धेरैले उत्पीडन, अन्याय, अत्याचार भोगे त्यहि मध्यमा मैले पनि विभिन्न किसिमका अन्याय, अत्याचार, विभेदहरु सहे । म एउटा दलित समुदायको मान्छे हु यो भनिरहदा दलित समुदायको मात्र विषय उठाउछु भन्न खोजेको त होइन । दलित देखि पिछडिएका हरेक समुदायका मानिसका आवाजहरु बुलन्द गर्ने प्रयास गर्दछु तर मेरो सुरुवाति अवस्थालाई हेर्दा गाउँमा संगै हिड्दा छोइछिटो हाल्ने चलन थियो । सार्वजनिक ठाउँमा विभेद गर्ने चलन थियो । ब्रामणको सानो बच्चाले उमेर पुगेको दलितको मान्छेलाई कहाँजान लागिस भन्ने जस्ता अप शब्दले अपमान गर्ने चलन थियो । त्यही बाट उत्पीडन सहदै सहदै नेपाली सेनामा गए । नेपाली सेनामा त समाजमा भन्दा पनि झन वढी अन्याय, विभेद भोगे त्यसपछी त्यसलाई बाहिर ल्याउनु पर्छ भन्ने अठोटका साथ जवर्जस्त, भोक भोकै बसेर कुनै दिनमा एउटा चाउचाउ मात्र खाएर पत्रकारितामा होमिए । अहिले कतिपय पुजिपतिले शोकका लागी, नामका लागी मात्र पत्रकारिता गरेको पाए तर मैले कामका लागी पत्रकारीता गर्छु भन्ने उद्धेश्यका साथ आए ।

खोज पत्रकारिता गरिरहदा चुनौतिहरु कत्तिको खेप्नु परेको छ आजसम्म आइपुग्दा ?
मेरो विचारमा चुनौति नखेपिकन पत्रकारिता टिक्दैन । एउटा पक्षले वा–वाहि गर्छ भने अर्को पक्षले शक्त सराप गर्छ । यि दुइ कुरालाई पत्रकारले जब सम्म भोग्न सक्दैन त्यो पत्रकारिता नै हुदैन । त्यसमा पनि खोज पत्रकारिता त सार्वजनिक कार्यक्रममा देखिएर नाम मात्र भएर गर्ने पत्रकारिता नै होइन । मैले खोज पत्रकारिता सुरु गर्दाको एउटा अनुभव सुनाउछु २०६४-६५ तिर गुल्मीको रिमुवा भन्ने ठाउँमा एउटी अन्यायमा परेकी महिलाको रिपोर्टिङ गर्न जादा रातिमा अस्लेवा भन्ने ठाउँबाट युवा साथिहरुको सहयोगमा रातभरी एउटा गोठमा वसेर पानि माग्ने निउमा थाहा नहुनेगरी रेकर्डिङ गरे । पछि ति महिलालाई सम्पर्क गरेर मैले तपाईंको जिवन कथा यसरि रेकर्डिङ गरेको छु प्रसारण गर्छु भन्ने स्विकृति लिएर प्रसारण गरे । यसरी भुमिगत जस्तै भएर मात्र बास्तबमा खोज पत्रकारिता सम्भव हुन्छ ।

बहुचर्चित कार्यक्रम ओझेलका खबर कस्तो कार्यक्रम हो र कहाँ कहाँ बााट प्रसारण हुन्छ ?
यो कार्यक्रम अन्याय, अत्याचार, अनीयमितता, भष्टाचार, सामाजिक विकृति, विसङ्गति र हाम्रो मौलिक संस्कृति जस्ता विषयमा खोज गर्ने उद्धेश्य का साथ तयार गरिएको कार्यक्रम हो । हामिले धेरैलाई अन्यायमा परेकालाई न्याय दिन सफल भएकाछौ साथै विभिन्न रोग बाट ग्रसित भएर जिवन न मृत्युको दोसादमा परेका हरुलाई यहि कार्यक्रमकै माध्यमबाट वर्षमा ४–५ जनालाई देश तथा विदेशमा वस्ने नेपालिहरुको सहयोगमा लाखौ रुपैया संकलन गरेर धेरैको ज्यान पनि बचाउन सफल भएका छौ । यो विचमा धेरै चुनौतिको सामना गरियो । जे भएता पनि विभिन्न गाउँ ठाउँमा पुग्दा बाबु ओझेलका खबरका माध्यमबाट धरैको ज्यान बाच्यो भनेर विभिन्न व्यक्तित्व हरुले भन्दा अत्यन्त खुसि लाग्छ । अहिले यो कार्यक्रम ५ नं. प्रदेशका १८ वटा रेडियो,रेसुङ्गा टेलिभिजन लगायत दर्जनौ अनलाइनहरु बाट प्रसारण हुन्छ ।

पत्रकारिता क्षेत्रमा आएपछि के पाउनुभयो ? के गुमाउनुभयो ?
मैले नाम पाए दाम पाउन सकिन सायद दामका पछाडी लागेको भए नाम पक्कै पाउन सम्भव हुने थिएन । धेरैको आत्माले मलाई आर्शिवाद दियो । अहिले गुल्मी जिल्लामा मात्र नभएर नेपाल भरी र विदेशमा बस्नु भएका नेपाली हरुले पनी कार्यक्रम निकै मन पराइदिनु भएको छ । त्यसमा निकै खुसि छु । अन्य क्षेत्रबाट पनि धेरै अवसरहरु आए केहि मिडियाहरुले डेस्कमै आउन आग्रह गर्नुभयो तर म गुल्मी छाड्न नचाहानुको कारण केन्द्रमा बसेर गाउँ गाउँका र दुर दराजका आवाज बुलन्द गर्न र खोज पत्रकारीता गर्न असम्भव हुन्छ जस्तो लाग्यो । म खोज पत्रकारिता बाचुन्जेल सम्म गर्ने अठोट लिएको छु । एउटा पत्रकारका लागी पैसा भन्दा ठुलो माया रहेछ ।

पत्रकारिता गर्न चाहानेहरुलाई के सुझाब दिनुहुन्छ पत्रकारको नाताले ?
बास्तबमा पत्रकारिता पढेर मात्र हुदैन । केही गर्ने उद्धेश्य हुनुपर्छ । एउटा सिपाहिले जसरी बन्दुक बोकेर लडाइमा होमिन्छ । त्यसैगरी हामिले पनी कलम बोकेर होमिने हो भन्ने हिम्मत बोक्नु पर्छ । हिम्मत नगरी पत्रकारिता टिक्दैन । अन्याय अत्याचार गर्नेको प्रतिकार गर्नै पर्छ भन्ने मेरो मिडिया र पत्रकारितामा लाग्ने नयाँ युवालाई आग्रह हो । साथिहरुलाई म केभन्छु भने यदि तपाईं खोज पत्रकारिता गर्दै हुनुहुन्छ भने १ वर्षमा मात्र २ वटा विषय उठाउनुहोस जुन विषयले सम्बन्धित क्षेत्रमा चामत्कारीक परिवर्तन गर्न सकोस ।

यहाँले पत्रकारिता गर्न शुरु गरे देखिको अविष्मरणीय क्षण ?
आज भन्दा करिव ५, ६ वर्ष अगाडि गुल्मीको हस्तिचोरमा वाढि पहिरो गइरहेको थियो । त्यहि समयमा म स्थलगत रिपोर्टिङ गर्न गइरहेको थिए । त्यो समय नढाटी भन्नु पर्दा सदरमुकाम तम्घासदेखी मात्र ७० रुपैया बोकेर गएको थिए । म त्यो पहिरो गइरहेको ठाउँमा हिड्दै गर्दा मेरा चप्पल पहिरोले वगाइदियो । त्यसपछी म लगभग आधा घन्टाको बाटो खालि खुट्टै हिडेर रिपोर्टिङ गरेको छु । त्यस्तै गुल्मीकै बलिथुममा एक पिडित महिलाको रिपोर्टिङ गर्न जादा दिउसोमा सम्भब नभएपछी रातिमा जादा पिडित महिलाको परिवार बाटै लखेटिए । म राति २ वजे जङ्गलको बाटो हुदै सुरक्षित स्थानमा पुगे । केहि समय पछि भने त्यहि परिवारलाई सदरमुकाम बोलाएर ति महिलालाई न्याय दिन सफल भइयो । यि दुई घटना मेरा लागी अविष्मरण्ीाय छन ।

खोज पत्रकारितामा पनि विशेष कुन विटमा कलम चलाउन मन पराउनुहुन्छ ?
मलाई वढि मात्रामा अनियमितता, भष्टाचार, विकृति र विषङगतिका क्षेत्रमा नै वढि मात्रामा कलम चलाउन मन पर्छ । कतिपय साथिहरुले ठट्टा गरेर भन्नुहुन्छ योत प्रेम सुनारको विट हो भनेर । यसका अलवा व्यक्तिका जिवन भोगाई र मौलिक संस्कृतिमा पनि मेरो रुचि छ ।