वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ अब दशैंपछि हुने

प्रकाशित मिति:

काठमाडौं, असोज २८ : नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको मुद्दाको सुनुवाइ अब दशैंपछि हुने भएको छ। आज पनि संवैधानिक इजलास स्थगित भएपछि अब गौतमको मुद्दाको छिनोफानो दशैंपछि हुने भएको हो। कोरोना भाइरस संक्रमण देखिएपछि धेरै न्यायाधीश क्वारेन्टिनमा बसेकाले बुधबारको इलजास पनि स्थगित गरिएको छ।

सरकारको सिफारिशमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। त्यसमाथि संवैधानिक इजलासमा सुनुहाइ जारी रहेको छ। सर्वोच्च अदालतका एक न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अधिकांश न्यायाधीश क्वारेन्टाइनमा छन्। बुधबार पनि चार जना न्यायाधीश मात्रै सर्वोच्च अदालतमा उपस्थित भए। संवैधानिक इजलासका लागि पाँच जना न्यायाधीश चाहिन्छन्। कोरोम नपुगेपछि बुधबार पनि गौतमको मुद्दामा संवैधानिक इजलास बस्न सकेन्।

संवैधानिक इजलास हप्तामा दुई दिन बुधबार र शुक्रबार बस्ने गरेको छ। बुधबार बस्न नसकेपछि अर्को इजलास बस्ने म्याद शुक्रबार हो। तर, न्यायाधीशहरु क्वारेन्टिनमा भएकाले शुक्रबार पनि संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च अदालतका एक कर्मचारीले बताए। शनिबार घटस्थापना छ। घटस्थापनादेखि देशभरका न्यायालयमा सार्वजनिक विदा हुने गरेको छ। जसले गर्दा दशैंअघि अब गौतमको मुद्दाको छिनोफानो नहुने भएको छ।त्यतिञ्जेलसम्म गौतमले राष्ट्रिय सभा सदस्यका रुपमा कुनै काम गर्न पनि पाउने छैनन्। यसअघि नै सर्वोच्च अदालतले मुद्दाको छिनोफानो नहुँदासम्म कुनै काम गर्न नदिन र नगराउन राष्ट्रपति कार्यालय, सरकार, राष्ट्रिय सभा र गौतमका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ।