उच्च जोखिमबाट स्याङ्जा आउदा पिसिआर अनिबार्य

प्रकाशित मिति:

स्याङ्जा—१ कार्तिक,जिल्ला प्रशासन कार्यालय स्याङ्जाले समुदायमा थप कोरोना संक्रमण नफैलियोस भन्नका लागि दशैंमा घर आउनेलाई पिसिआर रिर्पोट लिएर आउन आग्रह गरेको छ । अति उच्च जोखिम जिल्लाबाट स्याङ्जा आउदा अनिवार्य पिसिआर रिर्पोट लिएर आउन आग्रह गरेको हो । जिल्लामा पनि पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि चाडवाड मनाउन आउने संख्या बढ्ने प्रति लक्षित राख्दै नयाँ रणनीति तय गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । केहिदिन अगाडी स्याङ्जा आउदा पिसिआर रिर्पोट ल्याएर मात्रै जिल्ला भित्रने निर्णय गरी आदेश जारी गरेको थियो । सामाजिक संजाल लगायत चौतर्फी जारी गरेको आदेशको आलोचना भएपछि जिल्ला प्रशासन स्याङ्जाले निर्णय सच्चाउदै अति उच्च जोखिम क्षेत्रबाट आउनेलाई मात्रै यो आदेश लागु हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले एक थप स्पष्ट पार्दै पिसिआर रिर्पोट र कार्तिक १ गतेबाट लकडाउन हुने खालका समाचारहरु प्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । जनतामा भ्रम पार्ने खालका समाचार बाहिर ल्याउदा विश्वासनीयतामा गम्भिर प्रश्न उठेको भन्दै प्रजिअले स्याङ्जालाई कोरोना संक्रमणबाट सुरक्षित गर्न चालिएको कदमलाई तोडमोड गरिनु दुःखद रहेको उल्लेख गरेका छन् । जो जहाँ छौ त्यही बसेर दशै मनाऔ भन्ने आग्रह सर्वपक्षिय छलफलबाट निकालिएको हो प्रजिअ बस्नेतले जारी गरेको बक्तव्यमा भनिएको छ,“ आउनै परेमा भारत, तेस्रो मुलुक, उपत्यका लगायत उच्च जोखिमबाट आउनेका लागि यो अनुरोध गरिएको हो ।” सिद्धार्थ राजमार्ग भएर जाने आउनेका लागि भने खुला र सबै व्यवसाय स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न पनि प्रजिअले अनुरोध गरेका छन् ।

अस्पष्ट निर्णय गरेका कारण आलोचना व्यहोरेका प्रमुख जिल्ला अधिकारीले थप स्पष्टता पारेको आदेश जारी गरेपछि भने स्वागतयोग्य निर्णय भएको सामाजिक संजालदेखि विभिन्न सोसल मिडियामा आउन थालेका छन् । स्याङ्जामा हाल सम्म ४ सय ७४ जना कोरोना संक्रमण देखिएको छ भने ३ सय ९६ जना कोरोना जितेर घर फर्केको अबस्था रहेको छ । अहिले सम्म कोरोना संक्रमणबाट ५ जनाको निधन भएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । ७३ जना आईसोलेसनमा उपचार गरिरहेका छन् भने १ सय २४ जनाको स्वाव परिक्षणका लागि प्रयोगशालामा पठाइएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि भीरकोट नगरपालिकाले ३ गते सम्म लकडाउन गरेको छ भने चापाकोट नगरपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि लकडाउन गरेको छ । भीरकोटमा ५३ बर्षिय महिलाको कोरोनाबाट निधन भएको थियो भने चापाकोटमा आँखा शिविर गरेका कारण समुदायमा कोरोना संक्रमण फैलिएको थियो ।