पाल्पा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

प्रकाशित मिति:

पाल्पा — चिकित्सक र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पाल्पा अस्पतालले ओपीडी सेवा शनिबारबाट बन्द गरेको छ ।

दुई चिकित्सक, सुरक्षाकर्मी र एक कर्मचारीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।सेवाग्राहीको जोखिमलाई ध्यान दिएर अन्य सबै प्रकारका सेवा बन्द गरिएको उनले बताए । अर्को सूचना प्रकाशन नभएसम्मका लागि पाल्पा अस्पतालका सबै सेवा बन्द गरिएको र बाँकी कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरिने उनले बताए ।

केही दिनअघि पाल्पा अस्पतालबाट नौ जनाको स्वाब पठाएकामा चारनामा कोरोना पोजिटिभ देखिएको हो ।यसैबीच पाल्पामा एकै दिन शनिबार ७५ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५५ पुरुष र २० महिलामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।