बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई

प्रकाशित मिति:

६ कार्तिक,कञ्चन- बिजया दशमीको पुर्वसन्धयामा कञ्चन गाउपालिकाको मुख्य बजार क्षेत्र हरैया बजारको सरसफाई गरिएको छ । बिजया दशमीको शुभ अवसर पारेर दशैंको पुर्वसन्धयामा कञ्चन गाउपालिका वडा नं। ३ को वडा कार्यलय, साथी सञ्जाल,रुद्रपुर,हरैया बजार टोल बिकास संस्था,लाली गुराँस युवा क्लव र हरैया बजार ब्यबस्थापन समितिको संयुक्त आयोजनामा भएको सरसफाई कार्यक्रममा हरैया बजार क्षेत्र वरीपरी सफाई गरिएको साथी सञ्जालका बिष्णु नेपालीले जानकारी दिनु भएको छ।

सरसफाई कार्यक्रममा सहभागी हुदै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कुनै पनि गाउको सुन्दरता त्यस ठाउमा हुने नियमित सरसफाईले निर्धारण गर्ने हुदा आफ्नो ठाउको सफाई आफैले गर्नु पर्ने र आफु बस्ने वरीपरीको वातावरणलाई स्वच्छ राख्नु पर्नेमा जोड दिनु भएको छ। अध्यक्ष क्षेत्रीले कुनै अवसर पारेर कुनै संघसंस्थाले त्यो दिन मात्र उक्त क्षेत्रको सफाई गर्ने तर स्थानियहरुले दिनहु सफाई गरिरहे आफ्नो क्षेत्र र ठाउको सुन्दरता देखिने बताउदै सफाई गर्दा निस्केको फोहोरलाई ब्यबस्थापनको लागि देउराली बनक्षेत्रमा गाउपालिकाले बनाएको अस्थाई फोहोर संकलन केन्द्रमा जम्मा गर्ने बानीको समेत बिकास गर्नु पर्ने सुझाव दिनु भएको छ।

यस्तै वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले वडाले आयोजना गरेको सरसफाई कार्यक्रममा बजार क्षेत्रका स्थानियवासी,संघसंस्था,आमा समूह,क्लव र साथी संजालको उत्साहमय सहभागिताले वडालाई अझ सहज भएको बताउनु भएको छ।खास सफाई गर्ने स्थानियहरुले नै हो र स्थानियहरुको सकृयता र सहभागिताले सरसफाई कार्यक्रमको औचित्य बलियो हुने बताउदै वडा अध्यक्ष लामिछानेले बजार क्षेत्रका स्थानियवासीहरुले बजार क्षेत्रलाई दैनिक सफाई गरेको अवस्थामा बजार निकै स्वच्छ हुने र सबैले यस क्षेत्रको गुणगान गाउने बताउनु भएको साथी संञ्जालका बिष्णु नेपालीले जानकारी दिनु भएको छ।