पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग

७ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले, वालिङ, ६ कार्तिक । गत असोज ८ गते वालिङ १४ तमादीमा पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा जर्मनीको मुनस्टेरमा बस्ने नेपालीहरुको सहयोगमा उपलब्ध गराईएको रकम वालिङ नगरपालिकामार्फत पीडित परिवारलाई बिहीबार उपलब्ध गराईएको हो ।

जर्मनीको मुनस्टेरमा बस्दै आउनुभएका गंगाप्रसाद डुम्रे आकाशको पहलमा संकलन गरिएको रु. ६५ हजार ४१७ पहिरोमा परी परिवार गुमाएकी मनिसा नेपालीलाई नगरपालिका कार्यालयमा हस्तान्तरण गरिएको हो । जन्मभूमिमा भएको घटनाप्रति दुःख ब्यक्त गर्दै पीडामा परेको परिवारलाई आर्थिकरुपमा सहयोग गर्नुभएकोमा संकलनकर्ता डुम्रेसहित सम्पूर्णमा नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद ज्ञापन गर्नुभएको छ । नगरपालिकाले परिवारसहित घरबासै उठेको भोजराज, मनिसा नेपाली र पहिरोका कारण विस्थापित बनेका नागरिकहरुको उचित ब्यवस्थापनको तयारीमा लागिपरेको नगर प्रमुख खाँणले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पहिरोमा परी जनधनको क्षति पु¥याएको परिवारलाई आर्थिकरुपमा सहयोग उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । विदेशी भूमिमा संकलन गरिएको रकमले पहिरोमा परी परिवारका सदस्यसहित घरबास गुमाएकाको परिवारको पीडामा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले रकम संकलन गरी हस्तान्तरण गरिएको संकलनकर्ता डुम्रेले बताउनुभयो । यसअघि बुधबार विदेशमा रहेका विभिन्न संघसंस्थाले वालिङ १४ तमादी, वालिङ ११ पेखु र कालीगण्डकी ४ विर्घामा पहिरोमा परी ज्यान गुमाएकाको परिवार, विस्थापित परिवारलाई आठ लाख ३२ हजार ८२७ नगरपालिकामार्फत पीडित परिवारलाई उपलब्ध गराईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया