क्लिन फिड लागू

प्रकाशित मिति:

काठमाडौँ । शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग भएको र च्यानल क्लिन फिडमा उपलब्ध नगराएले अधिकांश च्यानलको प्रसारण रोकिएको हो । अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन विदेशी विज्ञापनरहित नभएसम्म प्रसारण हुने छैनन् ।

भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापन रहित भएर आएकाले प्रशारण भइरहेका छन् ।शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।यस्तै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए ।क्लिन फिडका लागि आवश्यक सामग्री रोकिँदा हाल सर्भिस दिन नसकिएको तर, दशैँ लगत्तै यी च्यानलको पूनः प्रसारण हुने जनाइएको छ ।

यी च्यानल बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग आइपिएल र इंग्लिस प्रियमियर लिग ९इपिएल० पनि नेपालमा हेर्न पाइने छैन ।विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन र कानूनी प्रावधानका आधारमा आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको अनुगमनका लागि मन्त्रालयले विज्ञापन बोर्ड पनि गठन गरेको छ । क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार ३ देखी ४ अर्ब रूपैयाँले बढ्ने अपेक्षा गरिएको छ ।