वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण ।

९ कार्तिक २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


वालिङ :  वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले आफूहरु उत्पादकत्व बढाउने गरी दीर्घकालिन योजनामा लागि परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, दीगो रुपमा उत्पादनको बृद्धि नगरी नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्तैन ।युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत नगर भित्रका कोभिड प्रभावित कृषकहरुका लागि बिउबिजन तथा कृषि औजार बितरण गर्दै नगर प्रमुख खाँणले नगरवासीलाई सक्षम र सवल बनाउन आफूहरुको ध्यान केन्द्रित रहेको स्पष्ट पार्नु भयो ।

नागरिकलाई कृषि प्रति आकर्षित गरी उत्पादन बढाउने उद्देश्यले बिउबिजन बितरण गरिएको भन्दै नगर प्रमुख खाँणले अव व्यवशायीक रुपमा खेती गर्नु पर्ने र उत्पादन बढाउनु पर्ने धारणा राख्नुभयो । प्रमुख खाँणले उत्पादन गरिएका बस्तुहरुलाई बजार सम्म पुर्याउने अभियानका साथ वालिङ प्रडक्ट होल्डिङ मल्टी कोअपरेटिभको स्थापना भइसकेको बताउनु भयो । उहाँले स्मार्ट नागरिक भए पछि मात्रै वालिङ स्मार्ट बन्न सक्ने स्पष्ट पार्नुभयो । स्मार्ट वालिङ बनाउनको लागि २० बर्षे योजना रहेको भन्दै नगरप्रमुख खाँणले सबैको प्रयासले मात्रै यसमा सफलता मिल्ने भनाइ राख्नुभयो । वालिङलाई खुला दिशामुक्त गराउन मात्रै सात बर्ष लागेको स्मरण गर्दै खाँणले भन्नुभयो, सबै नागरिक उत्पादन र उत्पादकत्वका क्षेत्रमा लागि परे तोकिएको समयमा नगरलाई स्मार्ट बनाउन सकिने छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले नागरिकको जीवनस्तर उकास्नका लागि नगरपालिकाले युएनडिपी नेपालसँग सहकार्य गरिरहेको भन्दै कृषकहरुलाई त्यसको फाईदा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, कृषकको सक्रियताले नै कार्यक्रमको प्रभावकारिता बढ्दछ ।

त्यस्तै युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकासँगको सहकार्य अत्यन्तै उपलव्धीमुलक रहेको बताउनु भयो । उहाँले भन्नुभयो वालिङका जनप्रतिनीधीहरु दीगो बिकासमा केन्द्रित रहेकाले नै काम गर्न सहज भएको छ । कार्यक्रमको उद्देश्य नै उत्पादकत्व बढाउने रहेको जानकारी गराउदै अर्यालले कोभिड प्रभावित नागरिकहरुलाई अधिकतम फाईदा लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कबिता गैह्रेले परियोजनाको उद्देश्य र कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका १४ वटै वडाका ३० जना कृषकहरुलाई पहिलो चरणमा बिउबिजन तथा कृषि औजार हस्तान्तरण गरिएको कार्यक्रम प्रमख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले कार्यक्रम कोभिड १९ बाट प्रभावितहरुको सहयोगमा केन्द्रित रहेको बताउनु भयो ।
कार्यक्रम अन्तरगत नगरपालिकाका बिभिन्न स्थानमा नर्सरी बनाउनुका साथै आवश्यक्ता अनुशार तालिम समेत सञ्चालन भईरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया