बिहार विधानसभाको लागि पहिलो चरणको मतदान जारी

प्रकाशित मिति:

१२ कात्तिक, काठमाडौं । कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ ।मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ ।

सबैभन्दा धेरै २७ उम्मेदवार गया टाउनमा छन् भने सबैभन्दा कम ५ उम्मेदवार कटोरियाबाट चुनाव लडेका छन् । पहिलो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल राजदले सबैभन्दा धेरै ४२ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी लोक जनशक्ति पार्टी लोजपाले ४१, राष्ट्रिय लोक समता पार्टी रालोसपा ४०, भारतीय जनता पार्टी भाजपा २९ सिटमा चुनाव लडेका छन् ।

भाजपाको सहयोगी एवम् नितिश कुमार नेतृत्वको पार्टी जनता दल युनाइटेड जेडीयु ३५ सिटमा चुनाव लडेको छ । ३५ सिटमा कांग्रेस र ८ सिटमा कम्युनिस्टका उम्मेदवार चुनावी मैदानमा छन् । जितन राम माझीको हम–एस ६ सिटमा र मुकेश सहनीको वीआईपी एक सिटमा चुनाव लडेका छन् । मतदाता २ करोड १४ लाख छन् ।