मेलमिलाप सम्बन्धी समुदायमा अभिमुखिकरण कार्यक्रम धुर्कोट बस्तुमा सम्पन्न !

प्रकाशित मिति:

राम भण्डारी/गुल्मी – `हाम्रो समस्या , हाम्रै समाधान ´ भन्ने नाराका साथ मेलमिलाप परिषदको समुदायमा जाउँ समुदायमै मेलमिलाप गरौँ भन्ने अभियानका साथ गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बस्तुको धुर्कोट प्रमान्नद भण्डारी बहुमुखी क्याम्पसको प्राणगडमा कार्यक्रमको आयोजना गरिएको थियो ।

धुर्कोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सर्वोच्च अदालतका रजिस्ट्रार एबम मेलमिलाप परिषदका सदस्य सचिब नारायण प्रसाद पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पन्थीले मेलमिलाप विवाद समाधानको सर्वोत्तम उपाय रहेको भन्दै घरपरिवार , छिमेकी तथा समुदायभित्र आउने सानातिना विवादहरुलाई मेलमिलापसम्बन्धी तालिम प्राप्त मेलमिलापकर्ताहरुले विवादका दुबै पक्षहरुको उपस्तिथिमा निष्पक्ष रुपमा सहजीकरण गरि सहमतीमा ल्याई समुदायस्तरमै विवाद समाधान गर्नुनै उत्कृष्ट रहेको बताउँदै अड्डा अदालत जानुभन्दा सामुदायिक मेलमिलापले सबैको भलो गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बिशेष अतिथीको रुपमा धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेल , उपप्रमुख एबम न्यायिक समिती धुर्कोटका संयोजक शिव बहादुर खत्री , धुर्कोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एबम न्यायिक समिती धुर्कोटका सदस्य हिम प्रसाद पन्थीले आफ्ना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा धुर्कोट बस्तुका समाजसेवी , राजनितीकर्मी , विद्यार्थी , सुरक्षाकर्मी , पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सञ्चालन मेलमिलाप परिषदका शाखा अधिकृत देबिराम भण्डारी मेलमिलाप अवधारणा र नेपालमा भएको प्रयोग लगायतको बिषयमा अभिमुखिकरण कार्यक्रम संगै सञ्चालन गर्नुभएको थियो ।