काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा

१५ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, १५ कात्तिक । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । ‘पार्टीको पुरानो साखलाई फिर्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ सुजाता कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन् । उनले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै सबैलाई सहयोगको आग्रह समेत गरेकी छिन् ।

पार्टीलाई पुर्नजिवन दिनुपर्ने बेला भएको भन्दै सबैले अब रुपान्तरित भएर बढ्नुपर्ने बेला आएको बताइन् । ‘आज पार्टीमा निरन्तर योगदान गरेर संगठन गरेरका साथीहरु भूमिकाविहिन हुनुभएको छ,’ कोइरालाले भनिन्, ‘पार्टीमा त्याग गरेका इमान्दार नेता तथा कार्यकर्ताहरुको उचित मूल्यांकन भइराखेको छैन । कोइरालाले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै देश र जनतामा भन्दा आफू केन्द्रित भएको आरोप लगाइन् । उनले भनिन्, वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायतको दुरदृष्टि र योजनाले पार्टीले विभिन्न कालखण्डमा ठूलै भूमिका पाएको थियो । पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निराशा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथिल हुँदा सिंगो मुलुक नै अधिनायकवादतर्फ जाने खतरा बढेको बताइन् । पार्टी र देशलाई संकटबाट जोगाउन पनि आफूले काँग्रेसको नेतृत्व गर्ने दिशामा पाइला बढाएको बताइन् ।

काँग्रेसभित्र चौधौं महाधिवेशनमा एक दर्जन जति नेतृत्वका आकांक्षी भइरहँदा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको उम्मदेववारी घोषणालाई अर्थपूर्ण मानिएको छ । कोइराला परिवारभित्रै सुजातासहित महामन्त्री डा। सशांक कोइराला र केन्द्रीय सदस्य डा। शेखर कोइराला सभापतिका आकांक्षी छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसकेकी सुजाता कोइराला पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी एकमात्र छोरी हुन् । उनका पिता लामो समय काँग्रेस सभापति थिए । सुजातासँग लामो समय काँग्रेसको विदेश विभागको नेतृत्व हाँकेको अनुभव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया