भोलि आउँदैछन् भारतीय सेनाध्यक्ष नरवणे, ओलीसँग विहीबार भेट्ने

प्रकाशित मिति:

१८ कात्तिक, काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आउँदैछन् ।भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ताको कार्यक्रम राखिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।नाकाबन्दी हटाउने विषय सैन्य कुटनीतिले भूमिका खेलेको पृष्ठभूमिमा यो भ्रमणले सीमा विवादमा सम्वादहीनता अन्त्य गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यस्ता छन् कार्यतालिका

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवणेको स्वागतका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनेछन् ।

भ्रमणको महत्वपूर्ण कार्यक्रम चाहिँ बिहीबार राखिएको छ । मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम शितलनिवासले बिहीबार राखेको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिन्ह लगाइसकेका छन् ।

नरवणेनेको नेपाल भ्रमण पनि केही अघि नै तय भए पनि कोभिड–१९ भाइरसका कारण रोकिएको सेनाले बताउँदै आएको थियो ।शितलनिवासको कार्यक्रम अघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन् ।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

‘नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको’ अभिव्यक्ति दिएपछि नरवणेको नेपालमा आलोचना समेत भएको थियो ।