माछा पोखरीमै मर्दा १४ लाख घाटा

प्रकाशित मिति:

सुरेश परियार,कात्तिक १९गते- किसान रमेश कुमार मल्लाहाको माछापोखरीमा माछा मर्न थालेका छन् । रुपन्देहीको मायाँदेवी गाउँपालिका वडा नम्बर १मा पाल्दै आएको माछा एक्कासी मर्ने थालेपछि माछापालक किसान चिन्तित बन्न थालेका हुन् । मल्लाहाले विगत ४ वर्ष देखि विभिन्न प्रजातिका माछा पाल्दै आएका छन् । तर एक्कासी पोखरी नै रित्तो हुने गरी माछा मर्न थालेपछि उनी चिन्तित बनेका छन् । माछापालक मल्लाहा भन्छन्, ‘केही दिनमा माछा बेचौंला र लिएको ऋण तिरौँला भनेको । माछा पानीमा तैरियो म चाँहि ऋणमा चुर्लुम्म डुबेँ । अहिले के गरौं र कसो गरौं भएको छु ।’

एक्कासी माछा परेपछि यो वर्षको पहिलो चरणमै झण्डै १४ लाख बराबरको क्षति भएको किसान मल्लाहाले दावि गरेका छन् ।मायाँदेवि गाउँपालिकाको स्वामित्वमा रहेको जग्गा लिजमा लिई विगत ४ वर्ष देखि सुरु गरेका उनले वर्षेनी घाटा ब्यहोर्नु परेको बताएका छन् । माछा उत्पादन गरेर विक्रिका लागी तयारी अवस्थामा रहेका रौँ,नैनी,सिल्बर,विगेट,ग्रास,कमन लगायतका प्रजातिका अनुमानित ५० क्विनीन्टल माछा मरिसकेको र मर्ने क्रम नरोकीएको किसान मल्लाहाले बताए । माछा बचाउन एग्रोभेटदेखि पशुसेवा ज्ञान केन्द्र पुगे पनि मल्लाहाले माछा बचाउन सकेका छैनन् ।के कारणले माछा मरेको छ भन्ने यकिन हुन नसकेको उनले बताएका छन् । माछा मरेको पिर एकातिर, दुर्गन्ध फैलिएर व्यवस्थापन गर्न कठिन उस्तै । मरेको माछा टिप्दै खाल्डो खनेर पुर्दैछु उनी भने । ‘आधा किलो भैसकेको माछा तुलोमा हाल्ने बेला खाल्डोमा हाल्नु प¥या छ । पिरैपिरको भारीले थिचिएको छ,’ उनले दुखेसो पोखे ।

माछा विशेषज्ञ नभएकाले पनि माछा मर्नुको कारण पत्ता लागेको छैन । तर अन्य जीव जनावर हेर्ने प्राविधिकहरु अक्सिजनको कमी र माछालाई चाहिने ठाउँ नपुगेकाले मरेको अनुमान लगाउँछन् । मायादेवि गाउँपालिकाको १० विगाहा क्षेत्रफलमा माछा पालन गर्दै आएका मल्लाहाले वर्षेनी क्षेति ब्यर्होदै आएका छन् भने सम्बन्धी निकायले भने यस विषयमा विशेष चासो नदिदाँ किसान बढि मर्कामा परेका हुन् । गत वर्ष १४ लाखको बराबरको क्षति ब्यहोरेका मल्लाहाले यस वर्ष ५० हजार माछा उत्पादन गरेका छन् ।