गोपाल खनाल राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड सदस्यमा नियुक्त

प्रकाशित मिति:

गोपाल खनाल राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् । उद्योग वाणिज्य महासंघको सिफारिसमा मन्त्री विश्वकर्माले खनाललाई नियुक्त गरेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन अनुसार परिषद्को बोर्ड सदस्यमा उद्योग वाणिज्य महासंघको सिफारिसमा परिषद् अध्यक्षले एक जना मनोनयन गर्ने व्यवस्था छ ।

खनाल उद्योग वाणिज्य महासंघको क्लस्टरबाट बोर्ड सदस्य बनेका हुन् ।अर्घाखाची स्थायी घर भएका उनी हाल महासंघको कार्यसमितिमा रहेका छन् ।बोर्ड सदस्यमा नियुक्त भएपछि खनालले खेलकुदलाई अघि बढाउने सन्दर्भमा नीजि क्षेत्रलाई खेलकुद ऐनमा समेट्ने सरकारको निर्णय स्वागत योग्य रहेको बताए।उनले खेलकुदको विकासमा नीजि क्षेत्रले खेल्ने भूमिका सहयोगी हुने धारणा ब्यक्त गरे । ‘खेलकुद ऐनमै नीजि क्षेत्रलाई समेट्ने सरकारको निर्णय स्वागत योग्य छ । खेलकुदमा नीजि क्षेत्रले खेल्ने भूमीका सहयोगी रहन्छ । सरकारले जसरी खेलकुदलाई अघि बढाउन खोजेको छ, त्यसमा नीजि क्षेत्रको सहयोग हुनेछ ।’ उनले भने ।यसअघि परिषद् अध्यक्षको हैसियतामा मन्त्री विश्वकर्माले खेल विज्ञ र खेलकुद संघको सिफारिसमा ७ जना सदस्य नियुक्त गरेका थिए । यसअघि मन्त्रीपरिषद् बैठकले ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।

शाहसीक तथा पर्यटकीय खेलकुदबाट गोबिन्द भट्टराई मनोनित भएका थिए । राखेपको नयाँ बन्ने बोर्डमा खेलकुद विश्व विद्यालय र ओलम्पिक कमिटिबाट तीन जना सदस्य नियुक्त हुन बाँकी छ । राखेपको नयाँ बोर्ड ३७ सदस्यीय रहने व्यवस्था गरिएका छ । नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भईसकेका छन् ।