निर्वाचनमा धाँधली भएको आरोप लगाउदै ट्रम्पले दिएको उजुरी खारेज

२१ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी । निर्वाचनमा धाँधली भएको आरोप लगाउनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको साहरा पनि पाउन असफल हुनुभएको छ । मतगणना तत्काल रोक्न माग गर्दै उहाँले अदालतमा दिएको उजुरी नै अदालतले खारेज गरिदिएपछि उहाँको अदालती बाटो पनि असफल भएको हो । उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्धारा दर्ता गरिएको उजुरी खारेज गरिदिएको अदालतले जनाएको छ । जर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो। मिचिगनमा भने मत गणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा प्रयोग भएको टेबुलेसन प्रक्रियामा पहुँचको माग गरिएको थियो।

दुवै राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ । अमेरिकामा अहिले पाँचवटा मुख्य राज्यहरूमा मत गणना भइरहेको छ । पेन्सलभेनिया, नेभाडा, एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन । पेन्सलभानियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईवटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ । ट्रम्पले जित्नको लागि भने पेन्सलभानियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ।

यसअघि ट्रम्पको अग्रता पेन्सलभेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जियामा पनि उस्तै स्थिति देखा परिरहेको छ।त्यहाँ ट्रम्पको अग्रता ३५०० भन्दा कममा झरेको छ। केही घण्टा अगाडि उनको अग्रता १०,०००रहेको थियो। अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ। प्रत्यक्ष मतदान बाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया