अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको अपील

प्रकाशित मिति:

काठमाडौँ, २३ कार्तिक-प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील गरेको छ ।काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सामाजिक सञ्जालहरूमा पनि समाचार सम्प्रेषण हुँदा पीडित एवं साक्षीहरू असुरक्षित हुने र सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने उल्लेख छ ।

यस्ता समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० को दफा ४९९० र ५९४० उल्लङ्घन हुने हुँदा संवेदनशील हुन काउन्सिलले आग्रह गरेको छ ।अपराधजन्य घटनासँग जोडिएका व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धानपूर्व नै सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट नाम सार्वजनिक नगर्न÷नगराउन आमसञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपील गरिएको छ ।

कतिपय मिडियाले साक्षी, पीडित र प्रमाणको सुरक्षामा ध्यान नदिइ समाचार सम्प्रेषण गर्दा पीडित र साक्षीले असुरक्षित महशुस गरेको तथा घटनासँग जोडिएका पीडित र साक्षीको नाम अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक हुँदा गोपनीयता र शान्ति सुरक्षामा गम्भीर असर परेकाले हत्या, अपराधजस्ता घटनाका विषयमा आएका समाचार सामग्रीमा ध्यानाकर्षण भएको जनाइएको छ ।