कृषिमा आधुनिकीकरणका अभियन्ता एवम् समाजसेवी पाण्डेयको निधनमा भएका शोकसभाहरू

प्रकाशित मिति:

मणिग्राम, २४ कार्तिक, सोमबार । रूपन्देहीको मणिग्राम क्षेत्रमा आधुनिक कृषिसँगै शैक्षिक, सामाजिक अभियन्ता पदमप्रसाद पाण्डेयको निधनमा स्थानीय दर्जनौं संघ–संस्था तथा सरकारका सबै तहबाट शोक व्यक्त गरिएको छ । स्वर्गीय पाण्डेले स्थापना गर्नुभएका शैक्षिक, सामाजिक, धार्मिक संघसंस्था सहित स्थानीय तह, राजनीतिक दल, प्रदेश सरकार लगायतले तिलोत्तमा –९, नन्दनवनस्थित उहाँकै निवासमा शोक सभाहरू समेत सम्पन्न गरेका छन् । शोक व्यक्त गर्दे प्रतिनिधि सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएका पाण्डेयको निधनले आफूलाई दुःख लागेको बताउनुभएको छ ।

शोक व्यक्त गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले स्वर्र्गीय पाण्डेयले यस क्षेत्रमा कृषिको आधुनिकीकरणमा निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।आज सोमबार आयोजित अर्को एक शोक सभामा प्रदेश सरकारका मन्त्रीहरूः लिला गिरी, आरती पौडेल, राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य दधिराम न्यौपाने लगायतले शोक तथा समवेदना व्यक्त गर्नुभएको थियो । यसअघि नेपाली काँग्रेसले आयोजना गरेको शोक सभामा पूर्वमन्त्री एवम् रूपन्देहीका पार्टी सभापति अब्दूल रज्जाकले मणिग्राम क्षेत्रका एकजना मुर्धन्य अभियन्ता तथा साझा अभिभावकको निधनले अपूरणीय क्षति पुगेको बताउनुभएको थियो । कार्यक्रममा पूर्वसांसद शंकरप्रसाद पाण्डेय, मोहनप्रसाद पाण्डेय, रूपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, नगर सभापति हरिलाल पाण्डेय लगायतले शोक व्यक्त गर्नुभएको थियो ।

९६ वर्षको उमेरमा गत कार्तिक १६ गते आफ्नै निवासमा दिवंगत हुनुभएका पाण्डेय वि।सं। २०१६ सालदेखि तिलोत्तमा –९, नन्दनवनलाई केन्द्र बनाई जनस्तरबाट कृषिमा आधुनिकीकरण थाल्नुभएको थियो । स्थानीयबासीको प्रयोजनका लागि पहिलोपटक ट्रयाक्टर, थ्रेशरको व्यवस्था गर्नेदेखि, सामुदायिक सिँचाइका लागि भूमि दान गर्ने त्यस्तैः स्थानीयबासी र इष्टमित्रको भलाईका लागि संरक्षकका रूपमा उहाँले काम गर्नुभएको थियो । स्वर्गीय पाण्डेयकी ठूली छोरी भगवतीदेवी भण्डारी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य र सानी छोरी यमकला न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्छ ।

त्यस्तै ठूला छोरा भेषराज पाण्डेय उन्नति एग्रो फार्मका प्रोप्राइटर हुनुहुन्छ भने पशुआहार उत्पादक कम्पनी उत्तम साइलेजका अध्यक्ष हुनुहुन्छ । उत्तम साइलेज मार्फत् उहाँले तिलोत्तमा नगरमा पचासौं विगाहा जमीनमा अत्याधुनिक प्रविधि र उपकरणसहित धान तथा मकैखेती गर्दै आउनुभएको छ । त्यसैगरी, उहाँ नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि, गौतमबुद्ध मा।वि। तथा जेसीआई भलवारीका पूर्व अध्यक्ष हुनुहुन्छ ।माहिला छोरा अर्जुन पाण्डेय हुमा इण्टिग्रेटेड लाइभस्टक फार्मका प्रोप्राइटर तथा उत्तम साइलेजका सञ्चालक हुनुहुन्छ । कान्छा छोरा इञ्जिनियर अनन्त पाण्डेय नेपथ्य कलेजका सहायक क्याम्पस प्रमुख सहित सबै सन्तान विविध सामाजिक संघसंस्थामा क्रियाशील हुनुहुन्छ ।