करिब ७ अर्ब लगानीमा गुरुयोजनाका काम शुरु

प्रकाशित मिति:

पुनहरि बेल्बासे ,लुम्बिनी । लुम्बिनी विकास कोषको गुरुयोजना पूरा गर्नको लागि अहिले करिब ७ अर्ब लगानीमा गुरुयोजनाका काम शुरु भएको छ । गुरुयोजना भित्रको ३५ किलोमिटर बाटो पिच गर्ने, मायादेवी मन्दिर वरपर पैदल मार्ग निर्माण गर्ने, पूर्वी र पश्चिम मोनास्लीहरु जोड्ने, ६ ओटा भवन बनाउने, ढलको निकास गर्ने, फोहोर व्यवस्थापन र लुम्बिनी क्षेत्रभित्र रिभर कन्ट्रोलिङ्को व्यवस्था मिलाउने कार्यका लागि करिब ७ अर्ब लगानी आवश्यक परेकोले संघीय सरकारले बजेटको व्यवस्था गरेकोले आगामी ३ वर्ष भित्र गुरुयोजना सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको लुम्बिनी विकासकोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी) ले बताएका छन् ।

उपाध्यक्ष भिक्षुले प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न ग्लोबल टेण्डरको लागि प्रक्रिया अघि बढेको बताउँदै लुम्बिनीको विकासका लागि आवश्यक पर्ने लगानीको स्रोत पहिचान भइरहेकाले जनतामुखी र विकासमुखी काममा त्यसको लगानी गर्ने बताए । अन्तर्राष्ट्रिय सभाहलमा पहिलो फेजको काम सम्पन्न भईसकेको छ । लुम्बिनीलाई स्मार्ट सिटी बनाउने योजना रहेकोले लुम्बिनीमा ३० बेडको मातृशिशु अस्पताल बनाउने काम पाँच महिना भित्र अगाडि बढाउने र लुम्बिनी सानो नभएकोले कपिलवस्तुको तिलौराकोटमा पनि गुरुयोजना बनाएर काम अगाडि बढाउने उपाध्यक्ष भिक्षुले बताएका छन् । आज लुम्बिनीको पर्साचोक देखि लोखडिया चोक सम्मको १६ सय मिटर बाटोको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले पर्साचोकमा र लोखडिया चोकमा निर्माण हुन लागेका दुई ओटा गेटको शिलन्यास पनि गरेका छन् । लुम्बिनी विकास कोषको गुरुयोजना सम्पन्न गर्नको लागि संघीय सरकार सकरात्मक रहेकोले छिटै सम्पन्न हुने बताउँदै रिङ्रोड निर्माणगरि व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गर्ने छ मन्त्री गिरीले भने ।

लुम्बिनीमा लुम्बिनीका जनतालाई प्राथमिकतामा राखि लुम्बिनीलाई फलफुल जोनको रुपमा विकास गरिने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । लुम्बिनीमा विभिन्न प्रजातिका चराहरु भएकोले चरा जोनका रुपमा विकास हुने र लुम्बिनी आउने पर्यटक कपिलवस्तु र रामग्राम पनि पुग्ने गरि योजना बनाएर अगाडि बढेको बताए । सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बनाएका थिए । अहिले सम्म गुरुयोजना पूरा हुन सकेको छैन । तर आगामी तीन वर्ष भित्र सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको छ ।