उपमहानगरले सटरको टेण्डरमा अनियमितता गरेको भन्दै व्यवसायीद्धारा विरोध

प्रकाशित मिति:

रुपन्देहीको बुटवल उपमहानगरपालीकाको स्वामित्वमा रहेको बुटवल हाटबजारका व्यवसायीक सटरको टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै व्यवसायीले विरोध जनाएका छन् । टेण्डर दर्ताका लागि सोमबार मध्यान्ह १२ बजेसम्म अन्तिम म्याद रहेको भनिएपनि म्याद नाघेर आएका टेन्डरलाई समेत दर्ता गराइएपछि व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् । व्यवसायीले मँगलबार पत्रकार सम्मेलन गरी उपमहानगरले गरेको टेण्डर प्रक्रिया खारेज गरी पुनः अर्को टेण्डर आह्वान गर्न माग गरेका छन् । सटर व्यवसायी संघर्ष समितिका अध्यक्ष खुमानन्द खनालले टेण्डर प्रक्रियाको समय सकिएको भनी आफ्ना सदस्यलाई फिर्ता पठाएको उपमहनागरले त्यसपछि आएका टेण्डरलाई समेत दर्ता गर्नु आपत्तीजनक र शंकाको विषय रहेको बताए । ‘हामीलाई राष्ट्रिय वाणिज्य बैंकमा धरौटी रकम जम्मा गरी निवेदनमा भौचर जम्मा गर्नु पर्ने नियम बनाइएको थियो, उनले भने, ‘उपमहानगरले सूचनामा उल्लेख भएको भन्दा फरक ढंगले टेण्डर दर्ता गर्नु गलत हो ।’

उपमहानगरका वित्तिय व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालले टेण्डर प्रक्रिया भने नियमानुसार भएको दाबी गरेका छन् । ‘सोमबार मध्यान्ह १२ बजेभित्र आएका निवेदनलाई मात्र हामीले दर्ता गरेका छौं, उनले भने, ‘पुराना व्यवसायीले अझै केही समय आफुहरु नै सटरमा व्यवसाय गर्न पाउनुपर्ने आशयले विषयलाई तरंगित बनाएका हुन् ।’ उनले सबै निवेदनलाई दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि मात्रै समय लागेको र यसलाई व्यवसायीले फरक तरिकाले व्याख्या गरेको बताए । (उपमहानगरमा सोमबार मात्रै १ सय ७८ वटा टेन्डर दर्ता भएको खनालले बताए । उपमहानगरका सटरमा १७ वर्ष पहिले शेर्पा टि कम्पनीसंग भाडामा लिएर व्यवसायीले व्यापार गर्दै आएका छन् । कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेको थियो । टेण्डर दर्ताको विषयलाई लिएर सोमबार प्रहरी र व्यवसायी बीच उपमहानगर परिसरमा झडप समेत भएको थियो ।