कोरोना जितेर घर फर्किएका ८७ बर्षिय भण्डारी भन्नुहुन्छ, `उच्च आत्मबल नै कोरोना जित्ने उपाय´

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – गुल्मी जिल्ला धुर्कोट गाँउपालिका वार्ड नं. ५ घर भई हाल तिलोत्तमा नगरपालिका वार्ड नं. २ जानकिनगरमा बसोवास गर्दै आउनु भएका ८७ बर्षिय चुरामणी भण्डारीले अहिले विश्वलाई नै चुनौती दिएको कोरोना भाइरस अर्थात कोभिड १९ वाट विजयी प्राप्त गर्नु भएको छ ।

भण्डारीलाई सुरुमा रुघाखोकी र ज्वरो देखिएको थियो । उहाँको स्वास्थ्यमा क्रमस शरीरलाई आवश्यक पर्ने अक्सीजन स्याचुरेशन कम भएकोले गत कार्तिक महिनाको ९ गते यूनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाको आइसोलेसनको (एच् डि.यु ) वार्डमा भर्ना गरिएको थियो ।

उहाँको स्वास्थ्य अवस्था झनझन कमजोर हुँदै गएतापनी उहाँको आत्मवल भने कमजोर थिएन । जिवनमा कहिले हरेस खानु हुन्न भनी अर्तिउपदेश दिने भण्डारीलाई जिवनमा कहिल्यै पनि सामान्य एन्टिबायोटिक समेत खान नपरेको उहाँका नाति प्रबिन भण्डारी बताउनुहुन्छ ।

रुपन्देहीमै रहेर स्वास्थ्य क्षेत्रमा अग्रसर प्रबिन भण्डारी भन्नुहुन्छ ,- ‘उहाँलाई एकैचोटि धेरै औषधी चलाउनु पर्दा अलिक अप्ठ्यारो महशुस हुन्छकी जस्तो भएको थियो तर उहाँमा त्यो समस्या देखापरेन’ ।

अस्पतालको बेडमा आफन्ती संगको भेटघाट हुन नपाएतापनी घरमा भएको सानो पलाती र घर नजिकको चौपारीमा जमघट हुने आफ्ना जेष्ठ नागरिक साथीहरुको याद भने उहाँलाई छिनछिनमा आईरहन्थो ।

कोरोना जितेर घर जान्छु भन्ने आत्मबलका कारणले नै गर्दा उहाँ १८ दिनको अस्पताल बसाई र उपचार पछि घर फर्किनु भयो ।

८७ बर्षिय चुरामणी भण्डारीले कोरोनालाई परास्त पारेर फर्किसकेपछी उहाँको उपचारमा संलग्न युनिभर्सल कलेज, स्वास्थ्यकर्मी , परिवार , शुभेच्छुक , इस्टमित्र लगायत स्वास्थ्य लाभको कामना ब्यक्त गर्ने समस्त शुभचिन्तकहरुमा आभार समेत ब्यक्त गर्नुभएको थियो ।