गुल्मीका सबै स्थानिय तहमा पुगे बैंक !

प्रकाशित मिति:

सरकारी कामकाजको लागि सदरमुकाम जानुपर्ने बाध्यता हट्यो !

गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको सनराईज बैंक ।                                                                                                                तस्बिर : हुमाकान्त/सबलपोस्ट

हुमाकान्त पोखरेल
गुल्मी, २८ कात्तिक । गुल्मीका सबै स्थानीय तहमा बैंक पुगेका छन् । जिल्लामा रहेका १० गाउँपालिका र दुई नगरपालिकामा विभिन्न बैंक पुगेका हुन् । सबैभन्दा पछि छत्रकोट गाउँपालिकामा असौज १७ गते सेन्चुरी बैैंकको शाखा स्थापनापछि सबै स्थानीय तहमा बैंक पुगेका हुन ।

सबै स्थानीय तहमा बैंङ्किङ सेवा सुरु भएसँगै गाउँपालिकाका सबै जनप्रतिनिधी, कर्मचारी, विद्यालय, विभिन्न क्लव, सहकारी, आमा समुह लगायतका संघ–सँस्था तथा स्थानीयहरुले गाउँकै बैंकमा खाता खोल्न सुरु गरेका छन् ।

राष्ट्रिय बाणिज्य बैंक दुई स्थानीय तहमा सिमित

जिल्लाका फरक–फरक स्थानीय तहमा फरक–फरक बैंकले कारोबार सुरु गरेका छन् । यसअघि सबै स्थानीय तहको कारोबार गर्दै आएको राष्ट्रिय बैंक अब जिल्लाका दुई स्थानीय तहमा मात्र सिमित भएको छ ।

रेसुङ्गा नगरपालिका र रुरु गाउँपालिकाको कारोबार मात्रै राष्ट्रिय बाणिज्य बैंकले गर्ने भएको हो । जिल्लाको धुर्कोट गाउँपालिकामा असार २५ गतेबाट सनराईज बैंकले कारोबार सुरु गरेको छ । बैंक स्थापना हुँदा नै सवैप्रथम गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलेले खाता खोलेका थिए । अहिले गाउँपालिकाका विभिन्न विद्यालय, क्लव, संघ सस्थाँ, ब्यक्तिहरु गरी ५०० जनाले खाता खोलिसकेको बैंकका प्रमुख ध्र्रुव पोखरेलले जानकरी दिए ।

कालिगण्गडी गाउँपालिकामा कुमारी बैंक लिमिटेडको शाखा स्थापना गरिएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ४ पूर्तिघाटबाट बैंकको शाखाले विगत आठ महिनादेखि सेवा दिएको छ । गाउँमै बंैक स्थापना भएपछि गाउँपालिकाका सबै जनप्रतिनिधी, कर्मचारी, संघ–सँस्थाले खाता खोलि कारोबार सुरु गरेको प्रेस संयोजक तिलाचन पाण्डेले जानकारी दिए ।

मालिका र इश्मा गाउँपालिकामा बैंक अफ काठमाडौले सेवा दिएको छ । मालिका गाउँपालिकामा गत भदौ १० गतेबाट र इश्मा गाँउपालिकामा असारबाट बैंकले कारोबार सुरु गरेको हो । गुल्मीदरबार गाउँपालिकामा ग्लोबल आइएम् बैंकले सेवा दिएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा स्थापना भएको बैंकले असारबाट कारोबार सुरु गरेको गाउँपालिकाले जनाएको छ । छत्रकोट गाउँपालिकामा सेन्चुरी बैंकले कारोबार सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले खाता खोलेर बैंकको उद्घाटन गरेका थिए । भने मुसिकोट नगरपालिकामा ग्लोबल बैंक, सत्यवती गाउँपालिकामा एन्. सी. सी बैंक, मदाने गाउँपालिकामा कृषि विकास बैंक र चन्द्रकोट गाउँपालिकामा नेपाल बैंकले सेवा दिने भएका छन् ।

विकटमा बैंक–स्थानीय खुसि

मालिका गाउँपालिका जिल्लाकै विकट गाउँपालिका हो । सदरमुकाम तम्घासबाट ७६ किलोमटिर टाढा रहेको गाउँपालिका केन्द्र अर्खबाङ्गबाट पनि सरकारी बैंकिङ्क कारोबार गर्न तम्घास आउनुपथ्र्यो । तर भदौ १० गतेबाट बैंक अफ काठमाडौले गाउँपालिका केन्द्र अर्खबाङ्गमै रही सेवा दिन सुरु गरेको छ ।

गाउँमै सरकारी काम–काजको सेवासहित बैंक स्थापना भएपछि स्थानीय खुसि भएका छन् । यसअघि सानो–सानो कामको लागि पनि तम्घास धाउनुपर्ने स्थानीयको बाध्यता अब अन्त्य भएको छ । ‘सानो रकम लिन पनि सदरमुकाम तम्घास नै धाउनुपर्ने थियो, त्यसमाथि समयमा काम नै हुदैनथ्यो ।’ स्थानीय देविराम गिरीले भने, ‘अब गाउँमै बैंक भएपछि धेरै सहज भएको छ ।’

त्यस्तै धुर्कोट, मदाने, कालिगण्डगी, चन्द्रकोट, सत्यवती लगायतका विकट क्षेत्रका स्थानीयलाई पनि बैकिङ कारोबार गर्न सदरमुकाम तम्घास आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । गाउँमै बैंक नहुँदा गाउँपालिकाबाट विनियोजन भएको योजना कार्यान्वयमा कठिनाई भएको थियो । यस्तो समस्या सबैभन्दा धेरै उपभोक्ता समितिले खेपेका थिए ।

‘उपभोक्ता समितिको काम गर्दा बजेट निकासा गर्न गाहे परेको थियो, तम्घास जाँदा–आउँदा धेरै रकम सकिन्थ्यो ।’ इश्मा गाउँपालिका ५ रजस्थलका नारायण अर्यालले भने, ‘बैंक यहि आएपछि धेरै सहज हुने भयो ।’

एकै स्थानीय तहमा धेरै बैंक, सरकारी कामकाज एउटैबाट

जिल्लाको चन्द्रकोट गाउँपालिकामा पाचँवटा बैंक रहेका छन् । नेपाल बैंक, प्रभु बैंक, ग्लोबल बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गरिमा बैंक चन्द्रकोटमा छन् । नेपाल बैंक बाहेकका अन्य चारवटा बैंक पहिले नै भएपनि सरकारी कामकाजको लागि नेपाल बैंक लिमिटेडको शाखा स्थापना गरिएको गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

सत्यवती गाउँपालिकामा पनि शाइन रेसुङ्गा बैंक पहिलेदेखि नै थियो । तर स्थानीय तहको निर्वाचनपछि भने सरकारी कामकाजको लागि एन्. सी. सी बैंकको शाखा स्थापना गरिएको छ । भदौबाट सत्यवतीको सबै काम एन्.सि.सी.ले गर्दै आएको गाउँपालिका उपाध्यक्ष सुवर्ण शाहि शेरचनले जानकारी दिइन् ।

मुसिकोट नगरपालिकामा पनि हाल शाइन रेसुङ्गा र ग्लोबल गरी दुई बैंक छन् । राष्ट्रिय बाणिज्य बैंकको अध्ययन गरिएतापनि अझैसम्म शाखा स्थापना गरिएको छैन । नगरपालिकाको खाता र कारोबार भने ग्लोबल बैंकले गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत घनश्याम न्यौपानेले जानकारी दिए । रुरु गाउँपालिकामा पनि हाल तीनवटा बैंक रहेका छन् ।

कृषि विकास बैंक, शाइन रेसुङ्गा र मेगा बैंक लिमिडेट रुरु गाउँपालिकामा छन् । तर सरकारी कामकाज भने वडा नम्बर ४ बलेटक्सारमा रहेको मेगा बैंकबाट भइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी पन्तले जानकारी दिइन् । ररु गाउँपालिमा राष्ट्रिय बाणिज्य बैंकको छिट्टै स्थापना हुने र सरकारी कारोबार त्यसैबाट हुने उनले बताइन् ।

मालिका गाउँपालिकाको वडा नम्बर ८ सिमलटारीमा पहिलेदेखि नै शाइन रेसुङ्गा बैंकले कारोबार गरिरहेको भएपनि सरकारी कामकाज भने बैंक अफ काठमाडौबाट हुने गाउँपालिकाले जनाएको छ ।

जिल्लाकै सबैभन्दा पुरानो रेसुङ्गा नगरपालिकाभित्र एक दर्जन बैंकले कारोबार गरिरहेका छन् । जनता बैक, प्रभु, एस्.बि.आई, गरिमा, ग्लोबल, राष्ट्रिय बाणिज्य बैंक, एन्.आई.सि. एसिया बैंक, गण्डगी विकास बैंक, कृषि विकास बैंक लगायतका बैंक छन् । तर नगरपालिकाको कारोबार भने राष्ट्रिय बाणिज्य बैंकबाट गरिदैं आएको छ ।

गाउँका बैंकका सुविधाप्रति स्थानीय आकर्षित

सदरमुकामका रहेका बैंकका सेवा–सुविधा र बेलाबेलामा आउने विशेष अफर स्थानीय नागरिकले विभिन्न सञ्चार माध्यमबाट सुन्ने मात्र हुन् । त्यसको प्रयोग भने गर्न पाउदैनन् । त्यसैमाथि स्थापित भइसकेका बैंकले धेरै स्किम पनि ल्याउदैनन् । तर गाउँमै भर्खर स्थापना भई कारोबार सुरु गरेका बैंकले भने स्थानीयलाई आकर्षित गर्न विभिन्न सेवा सुविधाहरु प्रदान गर्न थालेका छन् ।

धुर्कोट गाउँपालिमा स्थापना भएको सनराईज बैंकमा स्वास्थ्य दुर्घटना बिमा, रेमिटान्स प्राप्त गर्न सकिने, निशुल्क ए.टि.एम. सुविधा, निशुल्क मोबाइल बैंकिङ सुविधा छ । जसले गर्दा नागरिक खाता खोल्न निकै उत्साहित देखिएको वैकंका शाखा प्रबन्धक ध्रुव पोखरेलले बताए ।

‘शहरमा भन्दा गाउँमै बसेर काम गर्दा निकै आनन्द लाग्यो, किनकि स्थानीय बैंकिङ्क कारोबारप्रति निकै उत्साहित छन् ।’ उनले भने, ‘गाउँमै बैंक भएकोले बैंङ्किक सेवा–सुविधाको उपयोग समेत गर्न पाएका छन् ।’