बेलायती प्रधानमन्त्री जोनसन पुनः आइसोलेसनमा

प्रकाशित मिति:

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् ।उनी सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उनले आइसोलेसनबाटै गर्ने जनाइएको छ ।प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उनलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उनलाई कोरोनाको संकेत पनि देखिएको छैन, उनका प्रवक्ताले भने ।प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए । उनलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

उनलाई एनएचएसले परिक्षण र हेरचाह गर्ने, उनले अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उनी बाहिर निस्कन सक्ने सम्भावना रहेको छ ।अहिले सङ्क्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गरेका थिए । सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए ।अरु सांसदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।