नेकपाको सचिवालय बैठक १० दिनपछि पुन बस्ने गरी स्थगित

प्रकाशित मिति:

काठमाडौं, मंसिर ३ । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक १० दिनपछि पुन : बस्ने गरी स्थगित भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक म‌ंसिर १३ गते बस्ने गरी स्थगित भएको हो। सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तर्फबाट बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने बताएकाले मंसिर १३ गते पुनः बस्ने गरी बैठक सकिएको बताए।

‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीज्यूले आफूले सचिवालयमा प्रतिवेदन पेश गर्ने भन्नु भएको छ,’ बैठकपछि श्रेष्ठले भने,‘ उहाँको प्रतिवेदन, यसअघि पेश भएका प्रतिवेदन लगायतका विषयमा मंसिर १३ गते बस्ने बैठकमा छलफल हुनेछ। उनले पार्टीको संकट र निवारण सम्बन्धमा, यसअघि प्रस्तुत सबै प्रस्ताव र अध्यक्ष ओलीको प्रस्तावका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न अर्को बैठकमा गरिने बताए।

यस्तै, बैठकले केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकको कार्यतालिका पनि परिवर्तन गरेको प्रवक्ता श्रेष्ठले बताए। उनका अनुसार मंसिर १८ गते स्थायी कमिटीको बैठक बस्नेछ भने मंसिर १५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक २५ गते बस्ने छ।