सिद्धार्थ स्कुललाई रेडक्रस र युनिसेफको आर्थिक सहयोग

प्रकाशित मिति:

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा रहेको श्री सिद्धार्थ आधारभूत विद्यालयलाई नेपाल रेडक्रस सोसाइटी र युनिसेफले आर्थिक सहयोग गरेको छ । नगरपालिका भित्रको पुरानो विद्यालय ओझेलमा परेको र भौतिक संरचना भत्किन थालेकोले मर्मत सम्हारको लागि आर्थिक सहयोग गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीले १ लाख ४४ हजार सहयोग गरेको छ । विद्यालयमा रङरोधन, ढोका तथा झ्यालमा जाली, फिल्डमा माटो भर्ने काम र ट्वाइलेट मर्मत र कोभिड १९ को जोखिमबाट मुक्त हुन साबुनपानी र सेनेटाइजरको व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद बस्यालले बताए । रेडक्रसको सहयोग र विद्यालयको २५ हजार रकमले उक्त कार्य गरिएको अध्यक्ष बस्यालले जनाए । कक्षा ५ सम्म पढाइ हुने सिद्धार्थ आधारभूत विद्यालयमा ५७ जना विद्यार्थी अध्ययनरत छन् ।

नगरपालिका भित्र रहेको विद्यालयलाई नगरपालिकाले बेवास्ता गर्दा मर्मत सम्हारमा समेत समस्या भएकोले रेडक्रसले आर्थिक र भौतिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष करुङजग श्रेष्ठ, रेडक्रस सोसाइटी सिद्धार्थ शाखाका अध्यक्ष सञ्जीव शर्मा रेग्मी, पूर्व केन्द्रिय उपाध्यक्ष सुदर्शन नेपालले मन्तव्य राखेका थिए । युनिसेफले ३ थान डस्बीन, २ पेटी साबुन, ६ पिस सेनेटाइजर विद्यालयलाई प्रदान गरेको थियो ।