सम्झनामा खडानन्द बुवा
हामीले जे गरिरहेका थियौं, हाम्रा लागि त नयाँ थियो, जीवनका उर्जाशील समय भारतीय सेनामा खर्चनु भएका उहाँका लागि त्यो पाटै फरक थियो र पनि त्यो बेला पनि हाम्रो रहरमा संभावना देख्नुभयो, हौसला दिनुभयो ।
मोफसलमा मिडिया टिकाउन उहाँले पुराउनु भएको योगदान सम्पूर्ण नेपाली पत्रकारिताको उन्नयनका लागि हो । सारमा भन्नुपर्दा उहाँ अघोषित ‘मिडिया उद्यमी’ हो । अपिल गर्छु – उहाँको ब्रह्मलीन आत्मालार्ई त्यो सम्मान दिउँ ।
– प्रेम पुन्थोकी
२०६४ सालको असार तिर हो सायद, मैले खडानन्द बुवालाई चिनेको । ‘निहाल’ द्वेमासिक पत्रिका निकाल्ने क्रममा अमृतसँग नजिकिएको थिएँ, त्यही निकटताले चिनाएको थियो उहाँसँग ।
थोरै बोल्ने, शान्त स्वाभाव तर हाम्रा गतिबिधिमा पनि उत्तिकै चासो राख्ने र सल्लाह दिने ।
चासो, सुझाव, सल्लाह दिने हरेक बाबुका विशेषता होलान्, तर आखाँ चिम्लेर बिस्वास, आफू रित्तिएर साथ, कुनै कुराको जश नलिएरै (निस्वार्थ) काँध थाप्ने कमै होलान् त्यसमा एक हो – खडानन्द बुवा ।
‘निहाल’ बन्द भयो । पत्रकारिताको स्वाद जिब्रोमा पसेको थियो, अमृत र म आफ्नै किसिमले पत्रकारिताको वरिपरी थियौं । २०६८ को अन्तिम तिर हामी पत्रिका निकाल्ने सोंच बनाएर गफिँदै थियौं, बुवाको मौन समर्थन थियो, उहाँका आखाँमा हामी प्रतिको भरोसा थियो । हामीले जे गरिरहेका थियौं, हाम्रा लागि त नयाँ थियो, जीवनका उर्जाशील समय भारतीय सेनामा खर्चनु भएका उहाँका लागि त्यो पाटै फरक थियो र पनि त्यो बेला पनि हाम्रो रहरमा संभावना देख्नुभयो, हौसला दिनुभयो ।
हामी समाचार लेख्थ्यौं, उहाँसँग त्यस भन्दा बढी जानकारी हुन्थे । सुझाव हुन्थे तर उति बेला पत्रिका निकाल्न थाले पछि पत्रकार ठहरिएका हामीलाई उहाँका सुझाव कम महत्वका थिए, किनकी पत्रकार त हामी पो थियौं । हामी पत्रिकाको तयारी पुरा गथ्र्यौं, प्रेसमा छापिएर असरल्ल अवस्थामा आएका पत्रिका मिलाउने जिम्मा बुवाको थियो । म नियमित थिएन, अमृतको अलि अल्छी स्वाभाव, लाग्छ– बुवासँग विकल्प पनि थिएन ।
दुई जना कोही भेटिँदा उहाँले पत्रिका थमाएर पत्रिकाका कुरा गरेको धेरै सुनेको छु । हामीले पत्रिकाका कुरा गर्दा चाख लिएर हो, मा हो थपेको देखेको छु । पत्रिका सेटिंङ गर्दा घण्टौं नियालेर सुझाउँदै बसेको मैले देखेको छु । पत्रिकामा आउने समाचार देखि विज्ञापनसम्ममा उहाँको निगरानी भैरह्यो । पत्रिका ढिला निस्कँदा ताकेता देखि बजारमा नपुग्दाका असन्तुष्टिहरुले उहाँमा मिडिया प्रतिको अनौठो लगाव देखिन्थ्यो । उठ्नुपर्ने विज्ञापनको पैसा र पठाउनुपर्ने बिलको पनि जानकार । यो खडानन्द बुवाको जीन्दगीको नखुलेको पाटो हो, उहाँको अघोषित र अनौपचारिक व्यावस्थापकको भूमिका निर्वाह गर्दै पत्रिका र अनलाइनलाई डा¥याएर यहाँसम्म ल्याउनु भयो । अभावमा तेल थप्नु भयो, प्रगतिमा हौसिनु भयो, अहिलेसम्म आत्मसन्तोष बाहेकको भौतिक उपलब्धी मिडियाले नदिँदा पनि लागिरहनु भयो, लागिरहनु भयो । सायद उहाँलाई पनि थाहा थिएन, जवरजस्ती व्यवहारमा फसेरै किन नहोस्, खास व्यवसायिक पत्रकारिताको रसमा उहाँ फस्नु भएको थियो ।
मिडिया सञ्चालन आफैमा ठूलो चुनौतीको विषय हो । मोफसलमा बसेर पत्रिका चलाउनु र त्यसलाई निरन्तरता दिनु चानचुने कुरा थिएन । सबल नेपाल साप्ताहिक पत्रिका र सबल पोष्ट डट कम अनलाइन पोर्टल अहिले बुटवल ‘वेस’ मिडियामा औंलामा गन्दा अटाउने मिडिया बनेको छ । यसलाई यहाँसम्म ल्याउन अमृतले जसरी यसलाई प्रतिष्ठाको विषय बनाएर यहाँसम्म लिएर आए, त्यो अभियानमा खडानन्द बुवाको बराबर साथ र निरन्तर हौसलाले संभव भएको हो । मलाई थाहा छैन, तर समयले यस्तो पनि गराए होला, उहाँले आफ्ना कैयौं पेन्सन यही मिडियामा खर्चिनु भएको होस् । अमृत पत्रिका र अनलाइनका पछि लाग्दा व्यावसाय सम्हाल्नुभयो । जवरजस्ती आफूलाई प्रविधि अनुकुल बन्ने प्रयास पनि उहाँमा रह्यो । पछिल्लो समय फेसवुक पेज र ग्रुपहरुमा न्यूज सेयर गर्ने दैनिकी नै बनेकोथ्यो बुवाको ।
०००००
आइतबार कन्फर्मेसनका लागि दुई–चार कल फोन आए । ती फोन यत्तिकै आएका थिएनन् हाम्रो निकटता र आत्मिय सम्बन्धले जन्माएको परिणाम थियो । औपचारिक खबरबाट टाढा थिएँ । बिहान फोन गर्दा अमृतले केही सुधारको लक्षण छ भनेका थिए, उनलाई फोन हान्ने हिम्मत थिएन, मात्र त्यो खबर असत्य होस् भन्ने थियो । सत्य त्यही थियो, हामीले खडानन्द बुवालाई गुमाएका थियौं,
हामीले बुवालाई मात्र गुमाएका छैनौं,सहयात्री, सहकर्मी र संचारकर्ममा आजसम्मको साक्षी गुमाएका छौं । मलाई छोरोको साथी भएर मात्र हैन छोरा जत्तिकै विश्वास र भरोसा पनि राख्नुभयो । हामीसँग जुन सपना छ, त्यसमा बुवा प्रत्यक्ष परोक्ष लगानी छ । वर्षौं देखी सबल नेपालसँगै जोडिँदै आएको नाता आज सबल नेपाल जिवित रहेर भएको हो र त्यसलाई बुवाले आफ्नो तन, मन र धन खर्चनु भएको हो । मोफसलमा मिडिया टिकाउन उहाँले पुराउनु भएको योगदान सम्पूर्ण नेपाली पत्रकारिताको उन्नयनका लागि हो । सारमा भन्नुपर्दा उहाँ अघोषित ‘मिडिया उद्यमी’ हो । अपिल गर्छु – उहाँको ब्रह्मलीन आत्मालाई त्यो सम्मान दिउँ ।
०००००
मन भारी छ, रातीको १२ बजे यो लेखाइ टुंगाउँदै छु । एकै बसाईमा सबै लेखी सकाउन सम्भव छैन । उहाँका जीवनकालका धेरै योगदानका पाटा अरु पनि होलान्, त्यो ज्ञात नभएको कुरामा जाने दुस्साहस गरिन, कोट्याउँदै जाउँला पनि । बुवासँगको सामिप्यताका याद आखाँ वरिपरी छ । त्यस भन्दा बढी चिन्ता ! अमृत तिमी र परिवारलाई कति चोट परे होला भन्नेमा छ । तिमीले पटक पटक भनेको सुनेको छु,‘तनाव कसरी नियन्त्रण गर्ने धेरै सिकेको छु ।’ बिस्वास गर्छु, त्यो सिकाई यहाँ पनि लगाउने छौं । हजुर बा,आमा, सञ्जु ,दिव्या र बत्सललाई पनि सम्हाल्ने छौं । मुटु बलियो बनाउ, हाम्रो सपनाको लागि खम्बा बन्दा बन्दै ढल्नु भएको बुवाको सपनासँगै पुरा गरौंला ।
०००००
बुवा, हजुरको उपस्थिति र साथको अभाव सधैं खड्किइरहेछ । तपार्इंले पानी हालेर हुर्काएको सबल नेपाल र सबल नेपाललाई समाएर हुर्किएको मेरो पत्रकारिताले तपाईंलाई बिर्सन दिने छैन ।
संझिइरहने छु– खडानन्द बुवा अलविदा !