‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल,स्याङ्जा-स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको चिन्ता व्यक्त गर्दै नीजि क्षेत्र आर्थिक क्षेत्रको समृद्धिको आधार खम्बा भएको उद्योगी व्यवसायीहरुको भनाई थियो । हालसालै सम्पन्न नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेसनबाट निर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक अबस्थाका बारेमा चासो व्यक्त गरेका थिए । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संघले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा नीजि क्षेत्रले मुलुकमा पु¥याएको योगदानको चर्चा उद्योगी व्यवसायीले गरेका थिए ।

गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहोन रेग्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रजातन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि उद्योगी व्यवसायीका समस्या ज्यूँ का त्यूँ रहेको गुनासो उनीहरुको थियो । राजनीति क्षेत्रबाट टाढा रहेको नीजि क्षेत्रलाई राजनीतिक रङ्ग नदिन पनि उद्योगी व्यवसायीले आग्रह गरेका थिए । नीजि क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड हो विद्यायन समितिका सभापति रेग्मीले भने,‘तिन खम्बे अर्थ नीति अनुसार नीजि क्षेत्र पनि एक अर्थ नीतिमा सरकारले घोषणा गरेको छ ।’ सरकार र नीजि क्षेत्रको सहकार्यतालाई अगाडी बढाएर मुलुकको आर्थिक समद्धि हासिल गर्नु आवश्यक छ रेग्मीले भने । हरेक स्थानीय तहका एक—एक औद्योगीकग्राम खोल्ने कामलाई गण्डकी प्रदेशले तिब्रता दिएको भन्दै रेग्मीले नीजि क्षेत्रले सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले नीजि क्षेत्रको छाता संगठन महासंघमा वालिङले प्रतिनिधित्व गर्नु पाउनु गर्भको बिषय बनेको बताईन् । नीजि क्षेत्र र वालिङ नगरपालिका हातेमालो गर्दै यहाँका उद्योगी व्यवसायी समस्या समाधानमा लाग्दै वालिङलाई आर्थिक समृद्धिमा लैजान सहकार्यताको आवश्यकता भएको तिवारीको भनाई थियो ।
नवनिर्वाचित केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले स्याङ्जाका साना ठुला उद्योगी व्यवसायीको समस्या समाधानमा कुनै कसुर बाँकी नराखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्रीय सदस्यमा मतदान देखि साथ र सहयोग गर्नेहरु प्रति पौडेलले आभार व्यक्त गरेका छन् । जिल्ला नगरका वाणिज्य संघ र महासंघ विच सधै पुलको काम गर्दै अगाडी बढ्ने पौडेलले बताए ।

शुभकामना तथा बधाई कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्याल, पुर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघ महिला उद्याम विकास समितिका अध्यक्ष कविता भुषाल, जिल्ला फोटो व्यवसायीका अध्यक्ष प्रेम पराजुली, वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन खनाल, उपाध्यक्ष गिरमान गुरुङ र महासचिव केशरबहादुर खाँण(ध्रुव) लगायतका बक्ताले उद्योगी व्यवसायीको समस्यामा सरकारको उदासिनताको अन्त्य हुनुपर्ने बताएका थिए । कार्यक्रममा राजनीतिकदल, उद्योगी व्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । देशभरका १०५ जिल्ला नगर उद्योग वाणिज्य संघबाट पौडेलले ७० मत केन्द्रीय सदस्यमा ल्याएर निर्वाचित भएका थिए ।