होटल व्यवस्थापन तालिम लिनेहरु बेरोजगार हुनुपर्दैन : मैनाली

प्रकाशित मिति:

सवलपोस्ट मुलुकको अर्थतन्त्रको एउटा मुख्य खम्बा पर्यटन भएको र होटेल तथा रेष्टुरेन्ट पर्यटनको अभिन्न पाटो भएकाले ठूला शहरदेखि गाउंसम्म होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो छ । पछिल्लो समय होटल तथा रेष्टुरेन्टसंग सम्बन्धित रोजगारमुलक तालिम लिएर रोजगारी गर्ने, व्यवसाय गर्ने वा स्वरोजगार बन्ने लहर नै चलेको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गर्दै बुटवलमा स्थापित संस्था हो– डायनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ प्रा.लि. । बुटवलको मिलनचोक–शुक्रपथमा विगत ७ वर्षदेखि रोजगारमूलक प्राविधिक तालिम दिंदै आएको डायनामिकका प्रबन्ध निर्देशक अरुण मैनाली हुन् । मैनाली नेपाल तालीम तथा रोजगार ब्यवसायी महासँग लुम्बिनी प्रदेशका उपाध्यक्ष, लिङकन एकेडेमी अफ कुलिनरी एण्ड होटेल म्यानेजमेन्टका बोर्ड सदस्य,ग्लोबल नेप्लिज सेफ फेडरेसनका सल्लाहकार तथा गैर सरकारी संस्थाका बोर्ड सदस्य पनि हुन् । उनै मैनालीसंग प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका विषय र महासंघका गतिविधि तथा आसन्न महाधिवेशनसंग सम्बन्धित रहेर गरिएको छोटो कुराकानी ।)
–डायनामिक टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङले कस्ता तालिमहरु सञ्चालन गर्छ ?
– यो संस्था २०७० साल मंसिरमा कम्पनि रजिष्ट्रारको कार्यालयमा विधिवत दर्ता भई प्र्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त संस्था हो । यसले होटेल ब्यबस्थापनसँग सम्बन्धित कुक, वेटर, वेट्रेस, हाउस किपिङ, बार टेण्डर, नान तन्दुरी र २१ हप्ते स्पेशल डिप्लोमा लगायतका तालिमहरु गराउदै आएको छ । यसको मुख्य उद्देश्य रोजगारमुखी र व्यवहारिक प्राविधिक तालिम दिनु हो ।
– यहां तालिम लिएपछि विद्यार्थीहरु कसरी लाभान्वित हुन्छन् त ?
– हामीले प्रदान गर्ने तालिमहरु बढी भन्दा बढी प्रयोगात्मक हुन्छन् । सीटीईभीटीको पाठ्यक्रम अनुसार ८० प्रतिशत प्रयोगात्मक हुनै पर्ने प्रावधान छ । त्यसमा अझै थप गरि प्रशिक्षार्थीहरुलाई सिकाइन्छ । तालीमको दौरानमा अन्तरवार्ता, कम्युटर स्किल तथा विभिन्न अतिरितm क्रियाकलापहरुमा पनि समावेश गराइन्छ । तालीमको दौरानमै प्रशिक्षार्थीहरुको चाहाना अनूरुप स्वदेशी तथा विदेशी रोजगादाता कम्पनीहरुसँग समन्वय गरि अन्तरवार्ता गराई रोजगारीको सुनिश्चितता गराइन्छ । छोटकरीमा भन्नुपर्दा यस्ता तालिम लिने ९० प्रतिशत हाराहारीमा विद्यार्थीहरुले तालिम सकेपछि रोजगारी पाउंछन् । कतिपयले आफै व्यवसाय शुरु गरेर स्वरोजगार बन्न सक्छन् । काम गर्छु भन्ने कोही पनि तालिम पछि बेरोजगार बन्नुपर्दैन । हामीले दिन तालिम त्यति धेरै महंगो पनि छैन । त्यसले गर्दा सर्वसाधारण परिवारका विद्यार्थीले पनि तालिम लिन सक्छन् । यस सँस्थाले मुख्य कार्यालयमा परियोजनाहरुसँग सम्बन्धीत निःशुल्क तालीमहरु साथै शुल्क लिएर तालीमहरु प्रादेशिक कार्यलय बुटवलमा सँचालन गर्दे आएको छ । हामीले जेहेन्दार विद्यार्थीलाई शुल्कमा निश्चित प्रतिशतसम्म छुट पनि दिने गरेका छौं ।
–डाइनामिकले कस्ता कस्ता कार्यक्रमहरु सँचालन गर्दे आएको छ ?
सँस्था स्थापनाकाल देखि नै यसको उद्देश्य अनुसार होटल तथा पर्यटन ब्यवसायसँग सम्बन्धीत १६० घण्टा देखि हालै मात्र १६ सय ९६ घण्टा सम्मका सीटीईभीटी अन्तर्गतका कार्यक्रमहरु सँचालन गर्न थालेका छौं । साथै विभिन्न बिश्व विद्यालयहरुसँग समन्वय गरी तालीम सँचालन गरी सीपयुक्त जनशक्ति तयार गरिरहेका छौं ।
– तालिम लिनका लागि शैक्षिक योग्यता के कस्तो हुनुपर्छ ?
यसका लागि सस्थाले भर्ना आह्वान गरेका बेला पाठ्यक्रमले तोके बमोजिमको साक्षरता भएका तथा प्राविधिक शिक्षा लिन इच्छुक नागरिकहरुले योग्यता भएका प्रशिक्षार्थीहरुले आफ्नो नागरिकता, शैक्षिक प्रमाण पत्र तथा फोटो पेश गरि आवश्यक फारम भर्नुपर्ने हुन्छ ।

– यहांको सँस्थाले अरु कुन कुन निकाय÷सँस्थाहरुसँग आवद्ध रही समन्वय सहकार्य गरेको छ ?
विभिन्न परियोजनाहरुको आर्थिक सहयोगमा देशभरि निःशुल्क तालिमहरु संचालन गरि परियोजनाको उद्देश्य वमोजिम रोजगारीको सिर्जना गर्दै आएको छ । साथै वैदेशिक रोजगार विभाग, सीटीईभीटी, नेपाल तालीम तथा रोजगार महासँग लुम्विनी प्रदेश, ग्लोवल नेपलिज सेफ फेडरेशन, होेटल तथा रेष्टुरेन्ट ब्यवसायी सँघ रुपन्देही र विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा कलेजहरुसँग आवद्धता, समन्वय र सहकार्य गर्दै आएको छ ।
–तपाईं नेपाल तालीम तथा रोजगार ब्यसायी महासँग लुम्बिनी प्रदेश उपाध्यक्ष पनि हुनुहुन्छ , यसको उद्देश्य प्रकाश के हो ?
नेपाल तालीम तथा रोजगार ब्यसायी महासँघ छोटो अवधिको प्राविधिक शिक्षा तथा ब्यसायीक तालीम सँचालन गर्ने तालीम प्रदायक सँस्थाहरुको एक मात्र छाता सँगठन हो । यसको मुख्य उद्देश्यहरु प्राविधिक तथा ब्यवसायीक शिक्षाको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने नै हो । साथै तालिमलाई व्यवस्थित, गुणस्तरीय, मर्यादित र शुल्कमा एकरुपता, तालिम दिने संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरी आपसी भाइचारा सम्बन्धको विकास साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगारदाता संस्थाहरुसंग सहकार्य गर्ने रहेको छ । सम्बन्धीत साझेदार निकायहरुसँग समन्वय गर्ने, तालीम नीति नियमहरु निर्माण गर्ने र कानुनले भने बमोजिम सँस्थाहरुको अनुगमन गर्ने र तालीम ब्यवसायलाई मर्यादीत गर्ने हो । लुम्बिनि प्रदेशले पनि त्यही अनुरुप आफ्नो प्रदेशका ब्यवसायीहरुको हक हित तथा सम्बन्धीत निकायहरु सँग समन्वय गर्दैछ ।
–महासंघ लुम्बिनी प्रदेशको आगामी कार्यक्रम र योजना के के छन् ?
कोरोना भाइरसका कारण गरिएको लकडाउनकै अवधिमा भदौ महिनामा प्रादेशिक अधिवेशन सम्पन्न गरी कार्यसमिति चयन ग¥यौं । प्रदेश समितिले मुख्यतः यस प्रदेशमा रहेका सीटीईभीटीसँग सम्बन्धित सँस्थाहरुको अनुगमन र नियमन गर्दैछ । साथै हाल प्रदेशका रुपन्देही लगायत अन्य केही जिल्लाहरुमा देखिएका विकृति र बिसँगतिहरु जस्तै सीटीईभीटीको सम्बन्धन नै नलिई विभिन्न नाममा तालिमहरु, कक्षाहरु सँचालन गर्ने सँस्थाहरुलाई कानूनी दायरामा ल्याउने काममा पनि हाम्रो पहल हुनेछ । त्यसका लागि सीटीईभीटीको प्रदेश कार्यलय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यलय, स्थानीय तहहरुसँग समन्वय गरी अनुगमन र नियमन गर्ने,सीटीईभीटीसँग सम्बन्धन नलिई तालीम चलाउंदा गैर कानुनी हुने भएकाले त्यसो हुन नदिन सूचना निकालेर तुरुन्तै प्रकिया अघि बढाउने काम पनि संस्थाले गर्नेछ । यस वाहेक सीटीईभीटीसँग आवद्ध सँस्थाहरुको गठन हुन बाकी जिल्ला सँघहरु पुसमा आउंदै गरेको महाधिवेशनको तयारी गर्दैछन् ।
महासँघको उद्देश्य बमोजिम तालीम तथा रोजगार ब्यवसाय गर्ने सीटीईभीटीसँग आवद्ध सँस्थाहरु र यस ब्यवसायको मर्यादा उच्च पार्ने खालका कार्यक्रमहरु सम्पन्न भएका छन् । जस्तो, सम्वन्धित सरकारी, गैर सरकारी तथा निजी सँस्थाहरुसँग समन्वय गर्ने, भएका कमि कमजोरीलाई सुधार गर्ने, राम्रो कार्यलाई हौसला प्रदान गर्ने र हाल डाटा बैँक स्थापनाको तयारी, डाटावेसको तयारी र प्रादेशिक सँरचना बमोजिम प्रदेश र जिल्ला गठन गरी सातै प्रदेशमा तालीमको अभिवृद्धि गरी स्वरोजगार, रोजगार तथा बैदेशिक रोजगारीको सृजना गर्ने लक्ष्य छ ।
– महाधिवेशनको तयारी के कस्तो छ ?
विशेषगरी केन्द्रले दिएको निर्देशन अनुसार महाधिवेशन प्रतिनिधि तोक्ने अन्तिम तयारीमा छौँ । साथै गठित सबै जिल्लाहरुलाई यसका लागि तयार रहन यसै अन्तरवार्ता मार्फत अनुरोध गछौँ । बांकी जिल्लाहरुमा जिल्ला समिति गठन गर्छौं र महाधिवेशनको नियम र केन्द्र र लुम्बिनी प्रदेश कार्यसमितिले निर्णय गरेका कुराहरुलाई यथाशिघ्र कार्यान्वयन गर्छौं ।