गुल्मीमा घट्यो नौलो घटना : ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद

प्रकाशित मिति:

गुल्मी – युवा उमेरदेखि केही उमेर पार गरिसकेका र केही पाका देखिने महिला र पुरुषहरु बीच सम्बन्ध विच्छेदको घटना आजकल सामान्य नै हो । तर ७० वर्षको उमेरमा आएर सम्बन्ध विच्छेद गरेको सुन्दा भने अचम्म लाग्ला । गुल्मीमा सम्बन्ध विच्छेदको यस्तै एउटा घटना घटेको छ । ६९ र ७२ वर्ष उमेर पार गर्न लागेका एक वृद्ध दम्पतीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरबार गाउँपालिका-४ वीरबार भट्टेचौर निवासी दुई वृद्ध दम्पतीले गुल्मी जिल्ला अदालतमा शुक्रबार कानूनी रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।

शुक्रबार अपरान्ह अदालत परिसरमा भेटिएका ती दम्पती आफ्ना छोराछोरी र नातिनातीनाहरुसँगै सम्बन्ध बिच्छेदका लागि आएका थिए । कतिबेला सम्बन्ध बिच्छेद होला र कानुनी रुपमा अलग भएर बाँकी जीवन शान्तसँग गुजारौंला भन्ने प्रतिक्षामा हुनुहुन्थ्याे बाटुली पनि ।

७२ वर्षका श्रीमान तीलबहादुर विश्वकर्मा र ६९ वर्षकी श्रीमती बाटुली विश्वकर्मा अन्ततः शुक्रबारदेखि कानुनी रुपमै छुट्टिएका छन् । मुद्दाको प्रक्रिया टुंगिएपछि औपचारिक रुपमै दुवै जना अलग-अलग बनेका हुन् ।

‘बुवाआमा दुवैको सहमति अनुसार सम्बन्ध विच्छेद भएको हो’ तीलबहादुरका माइला छाेरा देवेन्द्र विश्वकर्माले भन्नुभयो ।  आफ्ना पहिलेका श्रीमानकाे निधनपछि बाटुलीले २०५२ सालमा दोस्रो विहेको रुपमा तीलबहादुरसँग विहे गर्नुभएको हो । बाटुलीका ६ जना छोरीहरु छन् । उनीहरु सबैको विहे समेत भैसको छ । पछिल्ला श्रीमान तिल बहादुरका हाल एक श्रीमती सहित ६ भाइ छोरा र एक छोरी छन् । तीलबहादुरसँग विहे गरेपछि बाटुलीको कोखबाट जन्मेकी एक छोरी पनि २६ वर्षकी भैसकेकी छन् । तीलबहादुर यतिबेला जेठी श्रीमती खगिश्वरा विकसँग बस्दै आएउनुभएकाे छ भने बाटुली आफ्नी कान्छी छोरीसँगै पहिलेका श्रीमानको घरमा हुनुहुन्छ ।

बाटुलीका श्रीमान तीलबहादुरले छोरीहरु सबैको विहे भइसकेका कारण अब बाटुलीलाई घरमै ल्याएर सँगै बसाउन चाहन्थे भने छोरीहरु आमालाई अलग बनाएर राख्नु भन्दा त्यहीँ बस्दै आएको घरमा नै राख्न चाहन्थे । त्यसै कारण बाटुलीलाई जेठी श्रीमतीसँग रहेका श्रीमानसँग गएर बस्नु भन्दा छोरीहरुसँगै त्यही घरमा बस्न ठीक लाग्यो ।

त्यही साेचका कारण उनी छोरीहरुको सल्लाह अनुसार कानूनी रुपमै अलग रहेर बस्ने निधो गरी सम्बन्ध विच्छेदका लागि अदालत पुग्नुभयो । ‘बुढेशकालमा छोडपत्र दिएर बस्दा कस्तो हुनेरहेछ भनेर रहर लागेर आएकी हुँ’ ठट्टाको स्वरमा उहाँले हाँस्दै भन्नुभयो, ‘दुईचार वर्ष बाँच्दा किन सधैँभरि झगडा र कचकच गरेर बस्ने ? कान सुन्दैनन् एउटा भन्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर म जान्न बरु डिभोर्स गर्छु भनेकी हुँ ।’

गुल्मीमा सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गएका छन् । तर गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना भने यो पहिलो हो । ‘यस अघि ५५ वर्षसम्मका जोडीहरुबीच सम्बन्ध विच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध विच्छेदका मुद्दाहरु आउने गर्दछन् तर संभवतः ७२ वर्ष उमेरमा भएको सम्बन्ध विच्छेदको यो नै पहिलो घटना हो’ , गुल्मी जिल्ला अदालतका तहसिलदार दिपेन्द्र कुमार तिवारीले भन्नुभयो । गुल्मी जिल्ला अदालतमा यस आर्थिक वर्ष २०७७/७८ मा ५४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भैसकेका छन् । दर्ता भएका मुद्दाहरु मध्ये २६ वटा फर्स्याैट भैसकेका छन् भने बाँकी २८ वटा फर्स्याैट गर्न बाँकी रहेको
उज्यालो