यस वर्षको प्रतिमा बस्नेत महिला पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई

प्रकाशित मिति:

समाजका बिभिन्न क्षेत्रमा कृयाशिल रहि योगदान पुराएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्ने तथा बिद्यार्थीहरुलाई छात्रबृत्ती र असहाय बृद्धबृद्धाहरुलाई आर्थिक सहयोग पुराउने उद्देश्यले स्थापित प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्था बुटवल ३ को छैठौं साधारण सभा तथा सातौं प्रतिमा जयन्ती समारोह सम्पन्न भएको छ । सो अवसरमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा प्राप्त गर्नबाट कुनैपनि बालबालिका बञ्चित नहुन भन्ने उद्देश्यका साथ बिभिन्न बिद्यालयमा अध्ययनरत रहेका गरिब तथा जेहन्दार ३० जना छात्र छात्राहरुलाई छात्रवृति प्रदान गरिएको थियो । यस्तै समाजका बिभिन्न क्षेत्रमा कृयाशिल रहि उत्कृष्ठ योगदान पुराए बापत बिभिन्न समाजसेवी, शिक्षापे्रमी महानुभावहरुलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोहि अवसरमा पत्रकारिता क्षेत्रबाट सवारी दुर्घटना न्यूनिकरण, महिला तथा बाल अधिकारका क्षेत्रमा योगदान पुराए बापत सबल नेपाल साप्ताहिकका सम्पादक तथा बुद्ध सामुदायिक टेलिभिजनका संवाददाता सन्जु पौडेललाई प्रतिमा बस्नेत महिला पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले पुरस्कृत पत्रकार पौडेललाई पुरस्कार राशी नगद रु. ५ हजार, दोसल्ला र प्रसंसा पत्र प्रदान गर्नु भएको थियो । संस्थाका अध्यक्ष तथा स्व.प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रस सोसायटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास, समाजसेवी तथा बुटवल नगरपालीकाका पुर्व उपप्रमुख बिमल बहादुर शाक्य, पुरस्कृत पत्रकार सन्जु पौडेल, संस्थाका अध्यक्ष नरेन्द्र बस्नेत लगाएतले संस्थाको कार्यक्रम, उद्देश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उमेरले बृद्धबृद्धा भएपनि नागरिकता लगाएत समस्याका कारण बृद्धभत्ता पाउन बन्चित भएकाहरुलाई संस्थाले बार्षिक २ हजार ४ सयका दरले बृद्धभत्ता उपलब्ध गराएको थियो ।
सवारी दुर्घटनामा परि अल्पायु मै जिवन गुमाउन पुगेकी आफ्नी छोरीको स्मृतीमा स्थापना गरिएको सो संस्थाको आयोजनामा हालै रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । संस्थाको सो कार्यक्रममा बिभिन्न ३० जना महानुभावले रक्तदान गरेको संस्थाका अध्यक्ष तथा प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतले बताउनु भएको छ । कार्यक्रममा लगातार ३ पटक रक्तदान गर्ने र महिला रक्तदातालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले हरेक बर्ष समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पुराएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरु आदिलाइ क्रमशः सम्मान गर्दै जाने संस्थाको उद्देश्य रहेको पनि संस्थाले जनाएको छ । साथै यस क्षेत्रका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्याथीलाई छात्रबृत्ती बितरण, अशक्त असहाय बृद्ध बृद्धाहरुलाई आर्थिक सहयोग प्रदान आदि कार्यक्रम पनि निरन्तर संचालन गरिने संस्थाले जनाएको छ ।

संस्थाका सचिव गौतमलाल शाक्यको संचालनमा भएको सो कार्यक्रममा महासचिव बिष्णु प्रधानद्वारा संस्थाको बार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।