न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई ३ महिनासम्म निःशुल्क भोजन गराए

प्रकाशित मिति:

काठमाडौं । महिलाका लागि महिलाद्वारा अभियान अन्तर्गत अमेरिकाको न्युयोर्कमा संचालन हुँदै आएको ”नेपाली लेडिज साँझ न्युयोर्क” ले यो बर्ष नेपालस्थित थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार निशुल्क भोजन गराएको छ ।

प्रारम्भमा अमेरिकाको न्युयोर्क, न्युजर्सी, कनेक्टिकट वरपर बसोबास गर्दै आएका महिलाहरुमा भातृत्व बिकास गर्दै एक आपसका सुख दुस्ख बाढ्ने उदेश्यले हरेक बर्षको जुन महिनामा आयोजना गरिदै आएको ”नेपाली लेडिज साँझ” पछिल्लो समय सामाजिक संस्थाको रुपमा रुपान्तरित हुँदै गएको छ । संस्थाले यसै अभियान अन्तर्गत यो बर्ष कोभिड १९ को महामारीका कारण अप्ठेरोमा परेका सुत्केरी महिला र तीनका कुरुवाहरुलाई पोषण युक्त खाना गत दशैं अघिदेखि दिपावली पछिसम्म बितरण गरेको लेडिज साँझद्वारा जारी बिज्ञप्तिमा जनाएको छ । संस्थाले ति महिला र कुरुवाहरुलाई निशुल्क खाना बितरणको लागि नेपालस्थित बहादुर शाह स्‍मृति प्रतिस्ठान र कृति फाउन्डेसनको सहकार्यमा बितरण गरेको समेत जनाएको छ । दुई सय भन्दा धेरै सुत्केरी र कुरुवालाई करिब एक लाख १० हजार रूपैयाको खाना बितरण गरिएको समेत नेपाली लेडिज साँझ न्युयोर्कले जनाएको छ ।

नेपाली लेडिज साँझ न्युयोर्क एक गैह्र राजनीतिक, गैह्र धार्मिक सामाजिक संस्था हो । सन् २०१२ देखि संचालनमा आएको यो संस्थाले यो बर्ष थापाथलीस्थित प्रसुति गृहमा आएका महिलालाई सहयोग गरेपछि सहकार्य गरेको नेपालस्थित संस्था बहादुर शाह स्‍मृति प्रतिस्ठानका महासचिब स्वर्ण बिक्रम शाहले नेपाली लेडिज साँझलाई धन्यबाद ब्यक्त गरेका छन् ।