होटल व्यवस्थापन तालिम दिने संस्था मापदण्ड अनुसार चल्नुपर्नेमा जोड

प्रकाशित मिति:

बुटवल,२६ मंसिर । सम्बन्धित सरकारी निकायमा दर्ता र स्वीकृति लिएर मात्र होटल व्यवस्थापन तालिम दिनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय ठूला लगानीका स्तरीय होटेल तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढेसंगै होटेल व्यवस्थापन तालिम दिने संस्थाहरु खुल्ने क्रम पनि बढेको र कतिपय संस्था विना दर्ता सञ्चालन र मापदण्ड विपरितका तालिम दिने गरेकाले त्यसलाई रोक्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । होटेल व्यवस्थापन तालिम दिंदै आएको डायनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल टे«निङ प्रा.लि.ले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको भूमिका विषयमा आयोजना गरेको भर्चुअल छलफलमा सहभागी वक्ताहरुले विना दर्ता तालिम सञ्चालन गर्ने संस्थालाई सरकारी निकायले कारवाहीको दायरामा ल्याई यो व्यवसायलाई मर्यादित र स्वच्छ बनाउनुपर्ने बताए ।

होटेल व्यवस्थापन तालिम जनस्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय भएकाले तालिम प्रदायक संस्थाहरुको कडाईका साथ नियमन र प्रभावकारी अनुगमन हुनुपर्नेमा पनि सरोकारवालाले जोड दिए । भर्चुअल छलफलपछि डायनामिकको बुटवल शाखा कार्यालयमा भएको औपचारिक कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटन उद्योग रहेको र होटेल तथा रेष्टुरेष्टहरु यसका अभिन्न पाटो भएकाले यो क्षेत्रमा रोजगारीको प्रचूर संभावना भएको बताए । उनले अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी आदिका कारण रुपन्देहीमा होटेल व्यवस्थापन तालिम लिने जनशक्ति बेरोगार बस्नु नपर्ने दावी गरे । डायनामिकका एकेडेमिक हेड राजेन्द्र तिमिल्सिनाले तालिम लिनु अघि सम्बन्धित क्षेत्रमा समर्पित हुने अठोट लिनुपर्ने धारणा दिए ।

डायनामिकका प्रबन्ध निर्देशक अरुण मैनालीले संस्थाले दक्ष प्रशिक्षकबाट गुणस्तरीय तालिम दिएकाले सातौं वर्ष सफलताका साथ पूरा गरेको र हालसम्म तीन हजार बढी प्रशिक्षार्थीलाई सशुल्क र निशुल्क तालिम दिइएको बताए । उनले संस्थाले हालै मात्रै वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम र प्रमाणपत्र दिने पाउने गरी पनि स्वीकृति पाप्त गरेको बताए । भर्चुअल छलफलमा सीटीईभीटीका सदस्य सचिव डा. पुष्प रमण वाग्ले, पुर्व सदस्य सचिव डा. रामहरि लामिछाने,महासंघका लुम्बिनी प्रदेश अध्यक्ष सतिश अधिकारी लगायतका वक्ताले होटेल व्यवस्थापन तालिम दिने संस्थाहरु सम्बन्धित निकायबाट सम्बन्धन लिएर मापदण्ड अनुसारको तालिम दिनुपर्ने, शुल्कमा एकरुपता ल्याउनुपर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने कुरामा जोड दिएका थिए ।