गल्याङमा डिप्लोमा इन सिभिल इन्जिनियरिङलाई अझै व्यवस्थित बनाइने

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययन अझै व्यवस्थित बनाइने भएको छ ।
प्राविधिक शिक्षाका लागि गल्याङ नगरपालिका ८ मा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययनलाई थप व्यवस्थित बनाइने भएको हो ।

विद्यालयमा बुधबार आयोजना गरिएको नव आगन्तुक विद्यार्थीलाई स्वागत एवम् अभिभावक भेला कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख सहितको उपस्थितिमा अध्ययनलाई व्यवस्थित बनाउने निर्णय भएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले विद्यालयमा सञ्चालनमा आएको प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन नगरपालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । उहाँले विद्यालयलाई जिल्लाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि नगरको साथ रहेको स्पष्ट पार्नुभयो । यसका लागि विशेष योजना बनाएर प्रस्तावपत्र तयार पार्न नगरप्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो –‘विद्यालयलाई नमूना बनाउन के गर्नुपर्छ, प्रस्ताव लिएर आउनुस् हामी सबै प्रकारको सहयोग गर्न तयार छौं ।’
नगरप्रमुख अधिकारीले पुसमा हुने नगरपालिकाको सभाबाट विद्यालयका विद्यार्थी आवातजावतका लागि विद्यालय बसको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले शिक्षाको स्तर बढाउनुपर्ने बताउनुभयो । प्राविधिक शिक्षा भए पनि गुणस्तरीय शिक्षा नभएमा त्यस्तो जनशक्तिले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव केदारराज आचार्यले नेपालमा सिपमुलक शिक्षाको कमी रहेको भन्दै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर आठका अध्यक्ष भेकप्रसाद श्रेष्ठले विद्यालयलाई नमूना बनाउन सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक कुलानन्द खनालले ठूलो संघर्ष गरेर विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको भन्दै सबै पक्षबाट आवश्यक सहयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रेशमराज उपाध्याय, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सुवर्ण श्रेष्ठ, भिमबहादुर गाहा, अभिभावक टिकाराम पराजुली, विद्यार्थी माधब कँडेल लगायतले बोल्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विष्णुप्रसाद खनालले गर्नुभएको थियो भने स्वागत डिप्लोमा इन सिभिल इन्जिनियरिङका प्रमुख प्रकाश खनालले गर्नुभएको थियो ।