राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने भएकी छिन्। पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पाँच दिवसीय भ्रमणका लागि मंसिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सम्मेलन मंसिर १७ देखि २८ गतेसम्म चल्नेछ। जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षबाट हुने भ्रमण फलदायी हुने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे। सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उनको भनाई छ।

कम्बोडियाका प्रधानमन्त्री आउँदै

यसैबीच कम्बोडियाका प्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। उनी आगामी मंसिर १३ गते काठमाडौं आउने परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध विषयमा द्विपक्षीय वार्ता हुने छ। भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट र प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।