पहिरोले नौ जना र घरबासै गुमाएकी मनिषाको संरक्षणको जिम्मा एसओएसले लियो

प्रकाशित मिति:

तोलाकान्त बगाले, वालिङ, ०५ पुस । पहिरोले परिवारका नौ सदस्यसहित घरबासै पुरेपछि सहाराबिहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । घर, परिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादिक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतब्यक्ति एवं बरिष्ठ परामर्शकर्ता सुमन बरालले बताउनुभयो । “मनिषाले परिवारका सबै सदस्य गुमाउनुभएको छ त्यसको पीडाले उहाँलाई विक्षिप्त बनाएको छ” स्रोतब्यक्ति बरालले भन्नुभयो, “उहाँलाई अब मनोसामाजिक परामर्शको आवश्यकता पर्ने भएकाले सोही अनुसारको परामर्श गरी उपयुक्त पारिवारिक वातावरणको सिर्जना गरिन्छ ।” मनिषाको शिक्षा दिक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको जिम्मा लिएको एसओएसले अब कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि त्यहीँ नै ब्यवस्थापन गरिने र अन्य विषय अध्ययन गर्न चाहेमा अन्य विद्यालयमा भर्ना गर्ने स्रोत ब्यक्ति बरालले बताउनुभयो ।

विश्वभर एकसय ३६ राष्ट्रहरुमा स्थापित एसओएस बालग्राम नेपालमा हाल नौ वटा रहेका छन् । पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका एकसय ४१ जना बालबालिकाहरु रहेका छन् । गत असोज ८ गते बिहान घरमाथिबाट आएको पहिरोले एकैघरमा नौ जनाको पुरिएर ज्यान गएको थियोभने मनिषालाई जीवितै उद्दार गरिएको थियो । पीडित मनिषाको संरक्षणको जिम्मा लिएर उहाँको भविष्य निर्माणका लागि एसओएसले खेलेको भूमिकाप्रति वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आभार ब्यक्त गर्नुभएको छ । नगर प्रमुख खाँणको रोहबरमा मनिषाको संरक्षकमा बालग्राम रहने छ भने अभिभावकको रुपमा दाजु भोजराज परियार र माईजु गीता नेपाली रहनुभएको छ । “जे नहुनु थियो भयो अब त्यसबाट पाठ सिकेर समस्याभित्र समाधान खोज्दै अगाडि बढ्नुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब उहाँको शिक्षा दिक्षा, लालनपालन, औषधि उपचार लगायतका सेवा सुविधाहरु एसओएसले उपलब्ध गराउने छ ।” परिवारका सबै सदस्य गुमाएर विक्षिप्त बन्नुभएकी मनिषालाई लगनशील र मेहेनतका लागि अध्ययन गर्नका लागि सुझाव दिनुहुँदै प्रमुख खाँणले भन्नुभयो, “भोलि आफ्नै खुट्टामा उभिन सक्नेगरी आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने छ ।” परिवारका सबै सदस्य गुमाएकी मनिषा तथा दाजु भोजराजलाई आवास निर्माणका लागि जग्गाको खोजी भईरहेको प्रमुख खाँणले बताउनुभयो । मनिषा तथा दाई भोजराजका लागि रोजगारीको अवसर सिर्जना गरिदिने प्रमुख खाँणले बताउनुभयो ।