तिलोत्तमामा दुई वर्षभित्र ९५ प्रतिशतलाई धाराको पानी

प्रकाशित मिति:

बुटवल । आउंदो दुई वर्षभित्र तिलोत्तमा नगरपालिकाका ९५ प्रतिशत बासिन्दाले ओभरहेड टंकीबाट वितरण हुने धाराको पानी उपभोग गर्न पाउने भएका छन् । शंकरनग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले यस्तो बताएका हुन् । त्यसका लागि खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको तर्फबाट टिकुलिगढ, मक्रहर, गंगोलिया लगायतका क्षेत्रमा ओभरहेड टंकीहरुको निर्माणका काम भैरहेको उनले बताए । नगरभित्रको सरसफाईको दिगो ब्यवस्थापनका लागि खानेपानी उपभोक्ता समितिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । खानेपानी तथा ढल ब्यवस्थापना आयोजनाका प्रमुख ई. शालिकराम पौडेलले खानेपानी तथा ढल ब्यवस्थापनका लागि सहि योजनाका साथ काम अघि बढाइने बताए ।

कार्यक्रममा खानेपानी उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष ध्रुब कुमार धितालले नगर भित्रको स्वच्छ खानेपानी, बातावरणीय पक्ष र सरसफाई सम्बन्धी कार्य सम्बन्धी नियमन र अनुगमन स्थानीय सरकारले गर्नुपर्ने बताए । उनले खानेपानीमा लाग्ने डिमाण्ड चार्ज र अन्य महसुल मिनाहाका लागी पहल अगाडि बढाइएको बताए ।संस्थाका निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारीले अब खानेपानीको थप सहजताका लागि पाईपलाईनको बिस्तार गर्नुपर्ने औल्याए । कार्यक्रममा नेकपा नगर कमिटि अध्यक्ष मोहन चापागाई , नेपाली काँगेसका नगर सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीकी राधीका श्रीस, राष्ट्रिय जनमोर्चाका दयानिधी पौडेल, आनन्दबन खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष केशब राज न्यौपाने, तिलोत्तमा नगरपालिका वडा नंं २ का अध्यक्ष दधिराम गौतम, शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्मा, शंकरनगर दुर्गादत्त मा.वि.का प्राचार्य चण्डी प्रसाद पाण्डे, पार्षदहरुका तर्फबाट माया अर्याल र काशीराम काफले लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार स्वर्गिय डायलसन अधिकारीलाई मरणोपरान्त नगद २५ हजार र प्रमाण पत्रले सममान गरिएको थियो । उक्त सम्मान स्व.अधिकारीकी धर्म पत्नि चन्दा भुसाल अधिकारीलाई प्रदान गरिएको थियो । यस्तै निवर्तमान कार्यसमिति,निर्वाचन समिति, निवर्तमान सल्लाहकारहरुलाई पनि प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता र उपाध्यक्ष डिल बहादुर भट्टराईको स्वागत तथा सचिव कमला ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थामा साढे ६ हजार उपभोक्ता सदस्य छन् ।