प्रधानमन्त्री ओलीले भने : असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन

प्रकाशित मिति:

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश र जनभावना विपरीत सरकारलाई घेराबन्दीमा पारेपछि जनतासामू जानुको विकल्प आफूसँग नरहेपछि संसद विघटन गरिएको बताएका छन्।

सोमबार दिउँसो देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनादेश र जनभावना विपरीत गतिरोध सिर्जना गरिएको र संसदलाई नै अर्थहीन तुल्याएपछि संसद विघटन गर्नु परेको बताएका हुन्। उनले भने,‘पार्टीभित्रैका साथीहरुले जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दी गरेर काम गर्न नदिएपछि जनतासामू जानुको विकल्प रहेन। त्यसैले संसद विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति घोषणा गरिएको हो।

उनले संसद विघटन र निर्वाचन आफ्नो रुची र छनौटको विषय नरहेको पनि बताए। ‘संसदलाई केही नेताको स्वार्थको केन्द्रमात्रै बनाउनु जनताको भावना विपरीत हुन्थ्यो। त्यसैले सार्वभौम जनतासामू जाने विकल्पमा म गएको हुँ,’ उनले भने,‘अझै पनि एकताबद्ध भएर निर्वाचनमा जान कमरेडहरुलाई आग्रह गर्दछु। चुनावले साथीहरुको क्षमताको मापन गर्ने अवसर दिनेछ। ’