कालिकामा कविता गोष्ठी र रक्तदान

प्रकाशित मिति:

बुटवल, पुष ६ – कोभिड १९ ले शिक्षा क्षेत्रमा समस्याहरु सिर्जना गरेको मात्र नभई नयाँ अवसर समेत सिर्जना गरेको कुरा कविता मार्फत कविहरुले व्यक्त गरेका छन् । कालिका मानवज्ञान माविको ६० औ वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा सहभागी कवि कवियत्रीहरुले उक्त कुरा बताएका हुन् ।

शेर बहादुर गुरुङ अन्तरमावि जिल्लास्तरीय कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिडको कारणले लामो समयदेखि विद्यालयहरु बन्द हुदा पठनपाठन हुन नसकेकोले बालबालिकाहरु शिक्षाको अवसरबाट वन्चित रहेको, विद्यार्थीहरुमा मानसिक र सामाजिक समस्या देखा परेको र स्वास्थ्य जोखिम समेत बढेको पिडा कविता मार्फत पोखेका थिए । सहभागी विद्यार्थीहरुले कोभिडको कारणले शिक्षा क्षेत्रमा वैकल्पिक विधिको प्रयोग हुन सकेको, अनलाइन विधिबाट पढाईलाई अघि बढाउन सकिने सम्भावनाको ढोका खोलेको र विद्यार्थीहरुलाई आफ्नो समाज अझं सहयोग गरेको समेत बताए । कोभिड र शिक्षा विषयक कविता प्रतियोगितामा सहभागी कविहरुले कविता मार्फत कोरोनाबाट बच्न गर्नुपर्ने कार्यको वारेमा संदेश समेत दिएका थिए ।

रुपन्देहीका विभिन्न १३ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेको कविता गोष्ठीमा क्यानन आवसीय माविका प्रिन्स श्रेष्ठ, सगरमाथा बोर्डिंग स्कूलकी छात्रा बन्दना भट्टराई र केरवानी माविका राहुल सापकोटा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो. कालिका मानवज्ञान माविको वार्षिकोत्सवमा आयोजित खेलकूद सप्ताह पनि सोमबार नै सम्पन्न भएको छ । विगतका वर्षहरुमा विद्यालयले खेलकूदका विभिन्न इभेन्ट्स समेटेर नगरस्तरीय कालिका रनिंग शिल्डको आयोजना गरेपनि कोरोनाको संक्रमणलाइ ध्यानमा राख्दै यो वर्ष आन्तरिक रुपमा मात्र खेलकूद प्रतियोगिताहरु गराईएको थियो । विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थी खेलाडीहरु तथा विभिन्न परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सोमबार आयोजित कविता गोष्ठी तथा पुरस्कार वितरण समारोहमा पुरस्कृत गरिएको छ ।

विद्यालयको ६० औ वार्षिकोत्सव मूल समारोह पुष ७ गते हुने र उक्त कार्यक्रममा विभिन्न ४७ वटा अक्षयकोषबाट १०० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण, वर्ष शिक्षक तथा दिर्घसेवी शिक्षक सम्मान गरिने विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए । वार्षिकोत्सव मूल समारोहमा शिक्षा पत्रकारीता सुरस्कार समेत प्रदान गरिने छ । विद्यालयले स्थापना गरेको कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता पुरस्कार यो वर्ष बुटवल एफएममा कार्यरत पत्रकार झविन्द्र देवकोटा र नागरिक दैनिकका पत्रकार विनोद परियारलाई प्रदान गरिने भएको छ । वर्षभरी सामुदायिक शिक्षामा कलम चलाउने पत्रकारहरुलाई उक्त पुरस्कार दिने गरिएको प्रधानाध्यापक ज्ञवालीले बताए ।कालिका मानवज्ञान माविको ६० औँ वार्षिकोत्सवको अवसर पारेर कालिका मानवज्ञान भूतपूर्व विद्यार्थी समाजले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रामनगरमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ । ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा भूपू विद्यार्थी, शिक्षक र अभिभावकहरुले रक्तदान र प्लाज्मादान गरेका थिए । रक्तदान कार्यक्रमले रगतको अभाव पुरा गर्न मद्दत गर्ने र पुर्व विद्यार्थीहरुलाई पुनर्मिलन गर्ने अवसर प्रदान गरेको रक्तदान कार्यक्रमका संयोजक बुद्धिराम चौधरीले बताए ।