लोकतन्त्र नै धरापमा पर्ने कदम प्रधानमन्त्रिले चाले : लुम्बिनी प्रदेश सांसद

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा पारेको सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले संविधान विपरित सनकको भरमा ओलीले संसद बिघटन गरेको आरोप लगाए । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रिपतिको कदम असंवैधानिक भएको जिकिर गरे । प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर्न आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको दाबी गरे । उनले अव नेपाली राजनीतिमा ओलीजस्तो भष्माशुरको कहिलेपनि जन्म नहोस् भन्ने टीप्पणी गरे ।सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले आगामी वैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् ।

वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगटन गर्नु पार्टीमात्रै नभइ मुलुककै बर्बादी भएको बताए । प्रधानमन्त्रीको इतिहासकै ठूलो भूल गरेको उनले उल्लेख गरे । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गरे ।ओलीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उनले संसद विगटन गर्नु असंवैधानिक भएको बताए । नेकपाकै अर्का सांसद तुलाराम घर्तिले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताए । केन्द्रको राजनीतिक समीकरणले प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने संकेत गर्दै उनले प्रधानमन्त्रीको कमदप्रति कडा शब्दमा निन्दा र आलोचना समेत गरे । मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने उनको भनाइ छ । प्रधानमन्त्रीको स्वइच्छाचारीता र दमनकारी नीतिका कारण मुलुक ठूलो दुर्घटनामा जाने संकेत गरेको उनले बताए । यसैगरी नेपाल बार काउन्सिलका केन्द्रिय पार्षद बाबुराम पाण्डेले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न कुनै अधिकार नदिएको बताए । क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।