प्रचण्ड र माधवकुमार नेपाल निकट सांसदहरुको भेलाको निष्कर्ष , संसदको नियमित काम अघि बढाउनु पर्ने

प्रकाशित मिति:

काठमाडौं, पुस ६ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुको भेलाले संसदको नियमित काम अघि बढाउनु पर्ने निष्कर्ष निकालेको छ। बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको प्रचण्ड र नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने संवैधानिक अधिकार नभएकाले तत्काल संसदको नियमित काम अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेकपाका संसदीय दलका निर्वमान प्रमुख सचेतक देव गुरुङले जनमतको अपमान गरेर संसद विघटन गर्ने संवैधानिक अधिकार प्रधानमन्त्रीलाई नभएकाले तत्काल अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको बताए। प्रधानमन्त्रीले जसरी स्वच्छाचारी ढंगले हठात्मा संसद विघटन गर्नुभयो। यो गैरसंवैधानिक कदम हो,’ उनले भने,‘प्रधानमन्त्रीको संसद विघटनको कदमलाई भत्सना गर्दै निन्दा गर्दछौँ। र, सँगसँगै प्रधानमन्त्रीको सिफारिसमा लालमोहर लगाउने राष्ट्रपतिको कदमप्रति संसदीय दल विरोध र निन्दा गर्दछ।’यस्तै, प्रचण्ड–नेपाल समूहका सांसदहरुको भेलाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेकाले राष्ट्रिय हितका लागि एकताबद्ध भएर कठित विघटनको विरोधमा उत्रिन सबै राजनीतिक दल र नागरिकलाई आह्वान पनि गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए।

उनका अनुसार संसद विघटनको विपक्षमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदहरुले हस्ताक्षर गरेका छन्। यस्तै, संसदीय दलको नेता चयन गर्न संसदीय दलको अर्को बैठक बुधबारका लागि बोलाइएको छ। गुरुङका अनुसार संसदमा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा संसदीय दलको नेताका रुपमा अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेकाले बुधबारको बैठकले उनलाई नै चयन गर्नेछ।