ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्दै, प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदीप ज्ञवालीलाई वनाईयो

प्रकाशित मिति:

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरिएको छ । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ । सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदीप ज्ञवाली तोकिएका छन् ।

पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ । बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।