प्रभु लाइफ इन्सुरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुँदै

प्रकाशित मिति:

काठमाडौं : प्रभु लाइफ इन्सुरेन्सको आइपीओ शुक्रबार पुस १० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । यद्यपी, कुन समयमा बाँडफाँड हुने भने अहिलेसम्म तय नभएको बिक्री प्रकन्धकले जानकारी दिएको छ । यस्तै, कम्पनीको आइपीओ प्री–अलोटमेन्ट आज पुस ८ गते सम्पन्न भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यता, प्रभुको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५:४२ गुणा बढी हो । प्रभुको आइपीओमा कुल आवेदकको संख्या १० लाख ८२ हजार १४३ जना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरीएको ५४ लाखलाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । ५ लाख ४२ हजार १४३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।