स्थापना दिवसमा बालगृहलाई खाद्यान्न

प्रकाशित मिति:

भैरहवा, ११ पुस- १२ औं स्थापना दिवसको अवसर पारेर मदिरा व्यवसायी संघ रुपन्देहीले भैरहवाको एक बालगृहलाई खाद्यान्न सामग्री दिएको छ । लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई संघले करिब ४० हजार रुपैयां बराबरको चामल,दाल,तेल लगायतका खाद्यान्न सामाग्री दिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपालले संघले प्रत्येक वर्ष रचनात्मक सामाजिक कार्य गर्दै आएको बताए । उनले मदिरा व्यवसायी संघ व्यवसायिक संस्था भए पनि आवश्यकता अनुसार सामाजिक कार्य गर्दै आएको बताए । सामाजिक कामलाई अझै बढाउन छुट्टै कोष स्थापना गर्न पनि नेपालले सुझाव दिए । मदिरा व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा नेपाल मदिरा व्यवसायी महासंघका उपाध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठले बालगृहलाई संघले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेलले बालगृहलाई केही भए पनि सहयोग गर्न पाउँदा संघ खुशी भएको बताए ।मदिरा व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष तथा मदिरा व्यवसायी महासंघका पूर्व उपाध्यक्ष खिम बहादुर खत्रीले स्थापनाकालदेखि नै संघले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको बताए ।

मदिरा व्यवसायी महासंघका पूर्व महासचिव विष्णु खड्काले संघले यस्ता कार्यहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङले प्रत्येक वर्ष विभिन्न संघ–संस्थाले बालगृहलाई सहयोग गर्दै आएको बताइन् । उनले बाल गृहको आफ्नै भवन बनाउन स्थानीय तहसंग जग्गाको माग गरिन् । आफ्नै जग्गा भए भवन बनाउन आफू र दाताले सहयोग गर्ने उनले बतायन् । संघका रुपन्देही अध्यक्ष शम्भुप्रसाद भट्टराईको अध्यक्षता, कार्यक्रम संयोजक भागिरथ पाण्डेको स्वागत तथा महासचिव हिमालय भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा मदिरा व्यवसायी महासंघका पूर्व महासचिव विष्णु खड्का र एशोसियट सदस्य अशोक महर्जनले बालगृहलाई नगद ५ हजार प्रदान गरेका थिए । वि.सं. २०६५ सालमा स्थापना भएको मदिरा व्यवसायी संघमा हाल ४ सय जना व्यवसायीहरु आबद्ध छन् ।